सुचना, समाचार र मनोरन्जन

क्रिएटर समिट २०२६ सम्पन्न : स्वस्थ नेपाल,सिर्जनशील व्यवसाय र डिजिटल अर्थतन्त्रलाई नयाँ ऊर्जा

काठमाडौं,

नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, उद्योगी, स्वास्थ्य विज्ञ तथा नवप्रवर्तनकर्तालाई एउटै मञ्चमा जोड्दै ‘क्रिएटर समिट २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। Chyantey Pyantey Inc. को आयोजनामा सम्पन्न कार्यक्रमलाई U.S. Soybean Export Council (USSEC) को Right to Protein Movement ले सहयोग गरेको थियो। कार्यक्रमले गुणस्तरीय प्रोटिन, सन्तुलित पोषण, स्वस्थ जीवनशैली तथा जिम्मेवार डिजिटल प्रभावको महत्वलाई विशेष रूपमा उजागर गरेको छ।

समिटमा १६६ जना सहभागी तथा ३० भन्दा बढी प्रतिष्ठित ब्रान्ड र साझेदार संस्थाको सहभागिता रहेको थियो। यसले नेपालका अग्रणी कन्टेन्ट क्रिएटर, उद्योगी, स्वास्थ्यकर्मी र विज्ञहरूलाई अनुभव आदानप्रदान, सहकार्य र नयाँ सम्भावनाबारे छलफल गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।

USSEC का क्षेत्रीय बजार प्रमुख (MENASA) डिबा जियानुलिस ले Right to Protein Movement को उद्देश्यबारे प्रकाश पार्दै गुणस्तरीय प्रोटिनमा सबैको पहुँच सुनिश्चित गर्नु स्वस्थ समाज निर्माणको आधार भएको बताइन्। उनले कुपोषण न्यूनीकरण, बालबालिकाको शारीरिक तथा मानसिक विकास, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा उत्पादक समाज निर्माणका लागि वैज्ञानिक आधारमा पोषणसम्बन्धी सचेतना फैलाउन उद्योग, स्वास्थ्य क्षेत्र, नीति निर्माता, शिक्षक तथा कन्टेन्ट क्रिएटरबीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

समिटको मुख्य सन्देश “गुणस्तरीय प्रोटिन विलासिता होइन, स्वस्थ जीवनको आधार हो” भन्ने रहेको थियो। अण्डा, मासु, माछा, दुग्धजन्य पदार्थ, सोयाबिन तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खाद्य पदार्थले मानव स्वास्थ्य, शारीरिक क्षमता, मानसिक विकास र समग्र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइयो।

कार्यक्रममा डा. आशेष भट्टराई, आनन्द बगरिया, संजोग कोइराला, कविता नेपाली, इभाना मानन्धर, सबाना खातुन, ओडा स्टिन तथा उषा रजक सहभागी रहने तय भए पनि आकस्मिक उडानका कारण उषा रजक उपस्थित हुन नसकेकी थिइन्। प्यानल छलफलपछि सहभागीहरूसँग अन्तरक्रियात्मक प्रश्नोत्तर कार्यक्रमसमेत आयोजना गरिएको थियो।

समिटले डिजिटल प्लेटफर्ममार्फत लाखौं मानिससम्म पुग्ने नेपाली कन्टेन्ट क्रिएटरहरूको सामाजिक उत्तरदायित्वलाई विशेष रूपमा उठान गर्‍यो। सही, वैज्ञानिक र विश्वसनीय पोषणसम्बन्धी जानकारी प्रवाह गर्दै स्वस्थ खानपान र जीवनशैलीलाई प्रोत्साहन गर्न क्रिएटरहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने निष्कर्ष निकालिएको थियो।

कार्यक्रममा हास्यव्यंग्य कलाकार सन्दीप क्षेत्री ले मनोरञ्जनसँगै स्वस्थ जीवनशैलीको सन्देश दिने विशेष प्रस्तुति दिएका थिए। त्यस्तै वर्षा भण्डारी को कोरियोग्राफीमा तीनवटा फेसन ब्रान्ड र १३ मोडल सहभागी रहेको फेसन शोले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

समिटको सञ्चालन रुबिश्का श्रेष्ठ र सलिना महर्जन ले गरेका थिए। कार्यक्रमको उत्पादन तथा व्यवस्थापन Sunya Productions ले विधान बास्तोला र सौगात आचार्य को नेतृत्वमा गरेको थियो भने समग्र कार्यक्रमको निर्देशन तथा कार्यान्वयन इभेन्ट एक्जिक्युटिभ डाइरेक्टर श्रीजल विक्रम शाही ले गरेका थिए।

क्रिएटर इकोनोमी र व्यवसायिक सहकार्यको नयाँ अध्याय

पोषण र स्वास्थ्य सचेतनासँगै क्रिएटर समिट २०२६ ले नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको क्रिएटर इकोनोमी र डिजिटल व्यवसायिक इकोसिस्टम को सकारात्मक चित्र पनि प्रस्तुत गरेको छ। ३० भन्दा बढी ब्रान्ड, उद्यमी, स्टार्टअप र कन्टेन्ट क्रिएटरहरूको सक्रिय सहभागिताले निजी क्षेत्रले डिजिटल सिर्जनशीलता र क्रिएटर–आधारित मार्केटिङप्रति बढ्दो विश्वास देखाएको छ।

समिटले व्यवसाय र कन्टेन्ट क्रिएटरबीचको सहकार्यले नयाँ बजार, ब्रान्ड प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तन तथा आर्थिक विकासका अवसर विस्तार गरिरहेको सन्देश दिएको छ। नेपालमा डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेका बेला यस्ता कार्यक्रमहरूले उद्योग, उद्यम र सिर्जनशील प्रतिभालाई जोड्दै दीर्घकालीन साझेदारीको वातावरण निर्माण गरिरहेका छन्।

सिर्जनशीलता, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्न सफल क्रिएटर समिट २०२६ ले स्वस्थ समाज निर्माणसँगै नेपालमा उदीयमान क्रिएटर इकोनोमीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। यस्ता पहलले व्यवसायिक विकास, सामाजिक सचेतना र राष्ट्रको समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.