काठमाडौँ :
लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’को आगामी चौथो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेलले होस्ट गर्ने भएका छन्। निर्माण टिमले शुक्रबार नम्रतालाई नयाँ होस्टको रूपमा औपचारिक रूपमा सार्वजनिक गरेको हो।
यसअघि लगातार तीन सिजनसम्म शोको होस्ट गरेकी रीमा विश्वकर्मा प्रतिनिधि सभा सदस्य (सांसद) निर्वाचित भएपछि उनको स्थानमा नम्रताको इन्ट्री भएको हो। नम्रतासँग यसअघि पनि ‘कमेडी दरबार’ र ‘नेपाल लोकस्टार’ जस्ता चर्चित टिभी शोहरू होस्ट गरिसकेको राम्रो अनुभव छ।
‘कमेडी च्याम्पियन’को यो चौथो सिजन आगामी साउनको पहिलो सातादेखि हिमालय टिभीबाट प्रसारण हुने तय भएको छ। यस पटकको सिजनमा देशभरबाट छानिएका डेढ सयभन्दा बढी हाँस्य कलाकारहरूले प्रतिस्पर्धा गर्ने जानकारी शोका निर्देशक विशाल भण्डारीले दिएका छन्। निर्देशक भण्डारीका अनुसार यस सिजनका निर्णायक ९जज० हरू पनि चाँडै नै सार्वजनिक गरिनेछ।