पोखरा :
पोखराको गैरपाटनस्थित यस क्षेत्रकै प्रतिष्ठित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई कक्षा १२ का विद्यार्थीहरूले एक भव्य समारोहका बीच स्वागत गरेका छन्। चर्चित गायिका प्रीति आलेको विशेष साङ्गीतिक प्रस्तुतिसहित निकै उल्लासमय र सौहार्दपूर्ण वातावरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले नवआगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै कुमुदिनी होम्सले विगत लामो समयदेखि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा पस्कँदै आएको स्मरण गराउनुभयो। उहाँले माध्यमिक तहको दुई वर्ष (कक्षा ११ र १२) विद्यार्थीहरूको भविष्य निर्माणको जग भएको उल्लेख गर्दै केवल किताबी ज्ञानमा मात्र सीमित नभई अनुशासन, कडा मिहिनेत र नैतिक मूल्य-मान्यतालाई आत्मसात् गरेर अगाडि बढेमा मात्रै जीवनमा सफलता हासिल गर्न सकिने बताउनुभयो। विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि सधैँ उपयुक्त वातावरण, प्रविधिमैत्री शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको र आगामी दिनमा पनि यसलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउँदै अध्यक्ष पालिखेले गुरुवर्गको आदर गर्न र समयको सही सदुपयोग गर्दै आफ्नो लक्ष्यप्रति केन्द्रित हुन विशेष आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै सहायक प्राचार्य मुकेश कुमार अधिकारीले लगनशीलता र मिहिनेतले नै लक्ष्यमा पुग्न सकिने भएकाले कक्षाकोठामा नियमित उपस्थित हुन अनुरोध गर्नुभयो। यो समय र उमेर अध्ययनकै भएकाले उज्ज्वल भविष्य निर्माणका लागि अनुशासन र मिहिनेत अपरिहार्य रहेको बताउँदै उहाँले अध्ययनका क्रममा कुनै पनि असुविधा वा समस्या परेको खण्डमा तत्काल सरसल्लाह गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। सोही अवसरमा विजनेश तथा म्याथ तर्फ शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक विशाल विक्रम कुँवर र केमेष्ट्री विषयकी शिक्षिका अञ्जु कार्कीलाई उत्कृष्ट अध्यापनका लागि अध्यक्ष पालिखेले सम्मान पत्रद्वारा सम्मानित गर्नुभएको थियो।
समारोहको विशेष आकर्षणको रूपमा रहेकी चर्चित गायिका प्रीति आलेले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेर सहभागीहरूलाई भरपुर मनोरञ्जन दिएकी थिइन्। उनले स्टेजमा ‘झोरा गीत’, ‘बामरी’, र ‘दाईलाई चिनिन मैले’ लगायतका चर्चित गीतहरू गाउँदा उपस्थित विद्यार्थीहरू निकै उत्साहित भएर झुमेका थिए। त्यसैगरी, कक्षा १२ का विद्यार्थीहरूले नयाँ साथीहरूको स्वागतमा विभिन्न आकर्षक गीत, नृत्य र प्रहसनहरू प्रस्तुत गरेका थिए भने नयाँ विद्यार्थीहरूका तर्फबाट पनि विद्यालयमा प्रवेश गर्दाको उत्साह र आगामी शैक्षिक यात्राप्रतिको प्रतिबद्धता जनाउँदै अनुभव साटासाट गरिएको थियो। यसअघि कार्यक्रममा उपस्थित सहभागीहरूलाई कक्षा १२ की विद्यार्थी दीपिसा बिकेले स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिइन्। कक्षा १२ की विद्यार्थी कृति देवकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सुवासी शर्मा र जन श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।