काठमाडौँ :
बलिउडका दिग्गज अभिनेता आमिर खानले आफ्नी प्रेमिका एवं ब्युटी तथा वेलनेस उद्यमी गौरी स्प्राटसँग आइतबार (५ जुलाई) दिउँसो मुम्बईमा आयोजित एक विशेष समारोहका बीच विवाह गरेका छन्। ६१ वर्षीय आमिर र ४७ वर्षीया गौरीले मुम्बईको बान्द्रास्थित आमिरकै निवास (पाली हिल)मा ‘स्पेशल म्यारिज एक्ट’ अन्तर्गत कानुनी रूपमा विवाह दर्ता गरेका हुन्।
विवाह सम्पन्न भएसँगै समारोहका ताजा तस्बिरहरू सार्वजनिक भएका छन्, जहाँ क्रिम र आइभोरी रङको परम्परागत पहिरनमा सजिएका नवविवाहित जोडी आमिर र गौरीका साथै परिवारका सदस्यहरूलाई देख्न सकिन्छ। मुम्बईमा भइरहेको लगातारको झरीका बाबजुद आयोजित उक्त वैवाहिक कार्यक्रममा दुवैतर्फका परिवार र निकै नजिकका साथीभाइ गरी करिब १५० जना पाहुनाहरूको मात्र उपस्थिति रहेको थियो।
विवाह समारोहमा आमिरका जेठा छोरा जुनैद खान, छोरी इरा खान र कान्छा छोरा आजाद खानका साथै गौरीका अघिल्लो विवाहबाट जन्मिएका ७ वर्षीय छोरा क्विन पनि सहभागी थिए। समारोहमा बलिउड फिल्म निर्देशक आशुतोष गोवारिकर, कमेडियन वीर दास, क्रिकेटर इरफान पठान, राजनीतिज्ञ राज ठाकरे र व्यवसायी मुकेश अम्बानी लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
अभिनेता आमिर खानको यो तेस्रो विवाह हो। यसअघि उहाँले रिना दत्त र किरण रावसँग विवाह गर्नुभएको थियो, तर पछि दुवै जनासँगको वैवाहिक सम्बन्ध विच्छेदमा परिणत भएको थियो। यद्यपि, आमिरकी आमा जिनत र उहाँका पूर्वपत्नीहरू समेत यस सुखद क्षणमा परिवारसँगै उपस्थित रहेका थिए। आमिर र गौरीको पहिलो भेट झन्डै २५ वर्षअघि भए पनि सन् २०२४ मा आमिरकी भदै (कजिन) नुजहत खानमार्फत उनीहरू पुनः नजिकिएका थिए। करिब दुई वर्षको प्रेम सम्बन्धपछि आमिरले सन् २०२५ मार्चमा आफ्नो ६० औँ जन्मदिनको अवसरमा गौरीलाई मिडिया र प्रशंसकहरूमाझ आफ्नो ‘पार्टनर’ को रूपमा औपचारिक रूपमा चिनाएका थिए।
विवाहका लागि कुनै भव्य भोज (रिसेप्सन) को आयोजना नगरिएको र पारिवारिक सल्लाहमा नै यसलाई नितान्त निजी एवं सामान्य राखिएको पारिवारिक स्रोतले जनाएको छ। अभिनेता आमिर खानले पनि सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ जीवनको सुखद सुरुवातका लागि सम्पूर्ण प्रशंसक र शुभचिन्तकहरूलाई धन्यवाद दिए।