पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित गुरुङ बस्ती घान्द्रुक एक समय ढुंगेनी घर, मौलिक गुरुङ संस्कृति र आत्मीय आतिथ्यका लागि परिचित थियो। तर सडक विस्तार, आधुनिक पूर्वाधार र बढ्दो पर्यटन व्यवसायसँगै परम्परागत स्वरूप बिस्तारै हराउँदै गएको छ। स्थानीयहरू घान्द्रुकको पहिचान जोगाउन संरक्षण र विकासबीच सन्तुलन आवश्यक भएको बताउँछन्।
समयसँगै यहाँको जीवनशैली र बसोबासको ढाँचा परिवर्तन हुँदै गएको छ । आधुनिकताको प्रभाव बढ्दै जाँदा मौलिकता ओझेलमा परेको छ । घान्द्रुकमा उहिलेको जस्तो मौलिक, परम्परागत गुरुङ संस्कृति, ढुंगेनी घर देख्न पाइँदैन । घान्द्रुकको डाँडागाउँमा ढुंगेनी घर मासिँदै गएका छन् । आरसीसी घरले भरिँदै गएको छ यो गाउँ । गाउँमा आउने पर्यटकलाई देखाउने गुरुङ संस्कृतिका नाचगान पनि लोपोन्मुख अवस्थामा पुगेका छन् । पर्यटक लोभ्याउने घरबास बिस्तारै खस्किँदै जान थालेका छन् । वडा नम्बर १० र ११ मिलेर बनेको घान्द्रुकको साख ११ मा पर्ने डाँडागाउँले जोगाएको छ । यहाँ अझै पनि ढुंगेनी घर छन्, स्थानीय खानेकुरा पाइन्छन् ।
पहिला ढुंगेनी घर हेर्न र स्थानीय खानाका लागि पर्यटक आउने गरेको घान्द्रुकका ८१ वर्षीय शंकरमान गुरुङले बताए । कुनै समय घान्द्रुकमा घुमाउने घर, खर, चेत्रोका पनि घर थिए । मौलिकता जोगाउन सकिएन भने घान्द्रुकको पर्यटन भविष्य नै जोखिममा पर्न सक्ने उनले चिन्ता व्यक्त गरे । घान्द्रुकमा होटलको जग बसाल्ने शंकरमान हुन् । ५५ वर्षदेखि आतिथ्य सेवामा सक्रिय उनी घान्द्रुककै पहिलो पर्यटन व्यवसायीका रूपमा चिनिन्छ ।

ढुंगामाटोले बनेका पुराना घर भत्काउँदै नयाँ बनाउने क्रम बढेको उनले बताए । ‘सिमेन्ट बालुवाको घर बनाउन पनि सजिलो, सामान पनि सजिलै पाइने, जस्तो ठाउँमा पनि बनाउन सकिने रहेछ । त्यसैले सबै यसैमा आकर्षित भए । ढुंगा माटो जम्मा गर्न गाह्रो छ, समतल ठाउँमा मात्र घर बनाउन मिल्ने रहेछ,’ उनी भन्छन् ।
उनका अनुसार नयाँ संरचना बनाउँदा परम्परागत शैली झल्काउने प्रयास भइरहेको छ भने पुराना घरहरूको संरक्षणमा पनि ध्यान दिन थालिएको छ । सडक पुगेपछि गाउँमा परिवर्तन आएको गुरुङको ठम्याईं छ । पहाडको काखमा लहरै उभिएका परम्परागत घरहरू बिस्तारै कङ्क्रिटका भवनहरूले प्रतिस्थापन गर्न थालेका छन् ।
घरमा आएका पाहुनालाई बास दिने, खाना दिने, सेवा–सत्कार गर्ने संस्कार थियो । गुरुङले सुरुमा व्यापार गर्ने तथा पर्यटकबाट पैसा लिनुपर्छ भन्ने कुरा थाहा नभएको बताए । आतिथ्यताबाट खुसी भएर उनीहरू आफैँले केही सामान, पैसा दिएर जान्थे । पर्यटनको विस्तारसँगै ठूला होटल र रिसोर्टहरू खुलेका छन्, जसले आर्थिक अवसर त ल्याएको छ तर गाउँको पहिचानमा भने असर पुगेको उनको भनाइ छ । स्थानीय व्यवसायीहरू पनि समयसँगै अघि बढ्नुपर्ने दबाबमा छन्, जसका कारण आधुनिक संरचना निर्माण अनिवार्यजस्तै भएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई घान्द्रुक सांस्कृतिक रूपमा कमजोर हुँदै गएको महसुस भएको छ । केही वर्षअघिसम्म मौलिक संस्कृति पस्कने घान्द्रुकले अहिले भने ‘शहरिया’ सिको गरेको प्रति उनी चिन्तित छन् । बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको उनको भनाइ छ ।

‘नयाँ संरचना बनाउँदा मौलिकता झल्कने गरी बनाउनेतिर जोड दिएका छौँ । यहाँ बनिरहेका ठूलठूला संरचनाबारे पर्यटकबाटै गुनासो आइरहेको छ,’ उनले भने ।
स्थानीय पहिचान दिन सकिएन भने हिमाल हेर्न मात्रै पर्यटक नआउन पनि सक्ने उनको भनाइ छ । ढुंगैढुंगाले छाएको घर भएकाले अझै पनि घान्द्रुकलाई ‘ढुंगेनी गाउँ’ नामले चिनिन्छ । तर, केही वर्षयता होटल तथा रेस्टुरेन्टका लागि सिमेन्ट, रड र इँटाको प्रयोगबाट ठूला भवन बन्दा गाउँको मौलिकता हराउँदै गइरहेको छ । विश्वको घुम्नैपर्ने गन्तव्यको सूचीमा परेकाले घान्द्रुकको परम्परागत र पर्यटनमैत्री हिसाबले पूर्वाधार विकास गर्नुपर्नेमा अध्यक्ष गुरुङको जोड छ ।
उनी भन्छन्, ‘पहिचान नमेटिने गरी संरचनाहरू निर्माण गर्नुपर्छ । पर्यटक घान्द्रुकको गाउँले परिवेश र संस्कृति हेर्न आउँछन्, यसलाई जोगाइएन भने भोलि यहाँको पर्यटन खस्किन सक्छ । पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् तर आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दै छ ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्दै गएको जानकारी दिए । एक्यापमा २०८१र०८२ सालमा ३ लाख पर्यटक आएको उनले बताए । एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक घान्द्रुक आएको उनको भनाइ छ । पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको उपाध्याय बताउँछन् ।
पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् । ३५ वटा घरबास छन् । पर्यटकीय याममा एकैदिनमा दुईरतीन हजारसम्म पर्यटक त्यहाँ पुग्छन् । घान्द्रुक आफैँमा एक सुन्दर बस्ती मात्रै नभएर विश्वचर्चित अन्नपूर्ण सर्किट, घोडेपानी, पुनहिल, अन्नपूर्ण आधार शिविर पदयात्राको पनि प्रवेशद्वार हो । त्यसैले पनि घान्द्रुकमा स्वदेशी तथा विदेशी पाहुनाको कमी कहिल्यै हुँदैन । पहिले पोखराबाट २ दिनमा पुगिने घान्द्रुक गाउँ सडक पुगेका कारण अहिले २र३ घन्टामै पुग्न सकिन्छ ।

