काठमाडौं :
फिल्म ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ। मंगलबार निर्माण पक्षले फिल्मको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरहरूले फिल्म एक्सन र थ्रिलर जनरमा आधारित रहेको सङ्केत गरेको छ। सार्वजनिक गरिएको पहिलो पोस्टरमा ६ जना मुख्य कलाकारहरूलाई एउटै लाइनमा देखाइएको छ । पोस्टरको पृष्ठभूमिमा घना जङ्गल र पहाडको दृश्य छ, जसले कथाको परिवेश कुनै दुर्गम वा जङ्गली क्षेत्रसँग जोडिएको बुझाउँछ।
यस पोस्टरमा कलाकारहरूको अनुहारमा चोट र रगत लत्पत्तिएको छ । उनीहरूको गम्भीर र आक्रामक भावले चलचित्रमा ठुलो द्वन्द्व रहेको देखाउँछ। पोस्टरको दुई किनारामा रहेका कलाकारहरू कविता नेपाली र निश्चल प्रधान भने रहस्यमयी ढङ्गले मुस्कुराइरहेका देखिन्छन्, जसले कथामा उनीहरूको भूमिका फरक वा षड्यन्त्रकारी हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
त्यस्तै, दोस्रो पोस्टर अझ बढी रहस्यमयी छ। यसमा रातो रङ्गको एउटा ठाडो पट्टीमा ‘२०२७’ लेखिएको छ। यो अङ्कले फिल्मको कथा भविष्यको समयमा आधारित रहेको वा प्रदर्शन मिति सम्बन्धित रहेको सङ्केत गर्छ।
यस पोस्टरमा कविता र निश्चलको अनुहारलाई केन्द्रमा राखेर बाँकी चार कलाकारलाई तलको भागमा राखिएको छ। कविता नेपाली र निश्चल प्रधानको हाफ लुक्स बडी देखाइएको उक्त पोस्टरमा जहाँ उनीहरूको जबरजस्त हासो छ। बाँकी चार कलाकार विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामा छन्। उनीहरूको अनुहारमा रगत बगिरहेको चोट छ।
विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहने चलचित्रको सह–निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा रहेका छन्। कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन्। प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी छन्। प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन्।
फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने यो फिल्मलाई बिजु पार्कीले निर्देशन गर्ने छन्। यो उनको डेब्यू निर्देशन हो। चिफ असिस्टेन्ट डिरेक्टरमा अनिश बुढाथोकी, असिस्टेन्ट डिरेक्टरमा मार्लोभ ढुंगाना,अनिता स्याङ्बो र विशाल बुढा छन्। कलरिस्ट कुणाल कुँवर छन्। एक्सनमा राजु डोङ, भिएफएक्समा सज्जल लोप्चन, मेकअप र कस्ट्युम डिजाइनर ज्योति केसीको रहनेछ।
रामप्रसाद चौधरीको सम्पादन रहने चलचित्रमा डीओपी संगम राईको रहनेछ। श्रीराम बालाजी फिम्सको वितरण रहने सिनेमाको पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो रहेको छ। निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन छिट्टै सुरु हुनेछ।