सुचना, समाचार र मनोरन्जन

अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी राहत संकलन

काठमाडौँ :

नेपालका बाढीपीडितको सहयोगार्थ अस्ट्रेलियाको वाल्चामा आयोजित राहत अभियानबाट २१ हजार ९ सय ५० अमेरिकन डलर  संकलन भएको छ। वाल्चास्थित एप्स्ली आर्म्स होटलका निर्देशक गणेश सेढाईंको पहलमा क्यान्डल लाइट, र्‍याफल तथा अक्सन कार्यक्रम आयोजना गरी उक्त रकम जुटाइएको हो।

उक्त उठेको रकम  प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा समेत गरिसकेका छन्। नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली समुदायले प्रभावित परिवारको सहयोगका लागि अभियान सुरु गरेको फिल्म निर्देशक शोभित बस्नेतले जानकारी दिए। २५० भन्दा बढी नेपाली तथा स्थानीय अस्ट्रेलियालीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा वाल्चा काउन्सिलका मेयर एरिक नोभाकसले विपत्तिप्रति दुःख व्यक्त गर्दै स्थानीय बासिन्दालाई सहयोगका लागि आह्वान गरेका थिए।

अभियानलाई प्रभावकारी बनाउन निर्देशक बस्नेत र सिड्नी निवासी व्यवसायी सन्तोष तिवारीले विशेष समन्वय तथा सक्रिय भूमिका निर्वाह गरेका छन्। कार्यक्रममा खुकुरी र थैलीजस्ता नेपाली मौलिक सांस्कृतिक सामग्री प्रदर्शन तथा बिक्रीका साथै र्‍याफल र अक्सन सञ्चालन गरिएको थियो। अभियानमा वाल्चा कम्युनिटी, वाल्चा मेन्स सेड, अक्स्ली राइडर्स, रोटरी क्लब, लायन्स क्लबका साथै टामवर्थ र आर्मिडेलका नेपाली समुदायले समेत ऐक्यबद्धता जनाएका थिए। आयोजक सेढाईंले संकलित रकम रकम मात्र नभई दुई देशका समुदायबीचको मानवीय ऐक्यबद्धताको प्रतीक भएको बताउँदै सहयोग पुर्‍याउने सम्पूर्ण स्थानीय व्यवसायी, संस्था एवं सहभागीहरूप्रति आभार व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.