पोखरा,
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छिन ।
लामो समयदेखि संघको विभिन्न तह र जिम्मेवारीमा सक्रिय रहँदै कार्यसमिति सदस्य, उपमहासचिव हुँदै संघको पहिलो महिला महासचिवका रूपमा सफल नेतृत्व प्रदान गरेकी गौतमले अब अध्यक्ष पदमार्फत संस्थालाई थप सशक्त, समावेशी, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन ।
उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो मूल मन्त्र पदभन्दा काम ठूलो हुन्छू रहेको उल्लेख गर्दै नेतृत्व भनेको पदले होइन, काम, इमानदारी, उत्तरदायित्व र परिणामले प्रमाणित हुने धारणा राखिन। उनले उद्योगी–व्यवसायीहरूको विश्वास, साथ र सहयोगकै कारण आफू आजको यात्रामा आइपुगेको बताउँदै आगामी दिनमा अझ ठूलो जिम्मेवारीका साथ संस्थाको नेतृत्व गर्न चाहेको स्पष्ट पारिन।
गौतमले पोखरा उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म कुनै महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर नपाएको स्मरण गराउँदै आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनको अभियान भएको बताइन।
उनले उद्योगी–व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखी सुशासन, पारदर्शिता, उत्तरदायित्व, व्यवसाय प्रवर्द्धन तथा सबैलाई समेट्ने नेतृत्वमार्फत संघलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन। साथै, केही समयपछि सक्षम, समावेशी र प्रतिबद्ध टिमसहित आफ्नो साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिइन।
उम्मेदवारी घोषणाको अन्त्यमा उनले सम्पूर्ण उद्योगी–व्यवसायीहरूसँग साथ, विश्वास, सुझाव र शुभेच्छाको अपेक्षा गर्दै विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो भन्ने सन्देशमार्फत आफ्नो अभियानलाई सफल बनाउन सहयोगको आग्रह गरेकी छिन।