सुचना, समाचार र मनोरन्जन

महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी

काठमाडौँ :

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले देशको वर्तमान राजनीतिक, सामाजिक तथा भू-राजनीतिक अवस्थाप्रति चिन्ता र चासो व्यक्त गर्दै एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अभिनेता हमालले सरकारको कार्यशैली, नेपालको परराष्ट्र नीति, र हालैका युवा आन्दोलनका विषयमा सन्तुलित र तार्किक विश्लेषण प्रस्तुत गरेका हुन्।

हमालले कुनै पनि सरकारको सुरुवाती सय दिनको मूल्याङ्कन घोषणा वा प्रतिबद्धताका आधारमा नभई उसले लिएको दिशा र जनतासामु प्रस्तुत गरेको परिणामका आधारमा हुनुपर्ने उल्लेख गरेका छन्। “आज नेपाली जनताले भाषणभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेका छन्,” हमालले लेखेका छन्।

परराष्ट्र नीतिको संवेदनशीलतालाई औंल्याउँदै उनले शक्तिशाली राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धाका बीच नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट मात्र निर्देशित हुनुपर्नेमा जोड दिएका छन्। उनले सबैसँग मित्रताको हात बढाउँदा पनि कुनै पनि शक्तिको प्रभावले नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमता ओझेलमा पर्न नहुने स्पष्ट दृष्टिकोण राखेका छन्।

देशमा विकसित पछिल्लो घटनाक्रम र युवा असन्तुष्टिबारे बोल्दै महानायक हमालले शान्तिपूर्ण विरोधलाई लोकतन्त्रको प्राण मानेका छन्, तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन नसक्ने उनको जिकिर छ। “आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र हुन्, तर अपराध गर्ने जोसुकै भएपनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्छ,” हमालले कानुनी राज्यको वकालत गर्दै लेखेका छन्।

राष्ट्रको वास्तविक शक्ति दलीय भागबन्डामा नभई संस्थाहरूको सबलीकरण र विधिको शासन सुदृढ गर्नुमा रहने उनको ठहर छ। दलीय राजनीतिभन्दा माथि उठेर ‘नेपाल र नेपाली’ को भावना बलियो बनाउनुपर्ने सन्देश दिँदै उनले स्टाटसको अन्त्यमा लेखेका छन्,”आउनुहोस्, हामी विवेकशील बनौँ, एकताबद्ध रहौँ, र यस्तो नेपालको निर्माणमा समर्पित बनौँ जहाँ विभाजनमाथि विवेकको विजय होस्, र जहाँ कुनै पनि राजनीतिक विचारधाराप्रतिको निष्ठाभन्दा नेपालप्रतिको हाम्रो प्रेम अझ महान् होस्।”

चलचित्र पर्दाभन्दा बाहिर रहेर पनि समसामयिक राजनीति र राष्ट्रिय मुद्दाहरूमा हमालले राखेको यो प्रखर र बौद्धिक विचारलाई सामाजिक सञ्जालमा सर्वसाधारणदेखि बुद्धिजीवी वर्गसम्मले निकै सकारात्मक रूपमा लिएका छन्।

Leave A Reply

Your email address will not be published.