सुचना, समाचार र मनोरन्जन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

काठमाडौँ,
बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ । आगामी साउन ३० गते काठमाडौँमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ ।
अवार्डमा सहभागी चलचित्रमध्ये उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनिष कार्कीले विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएका कलाकाaर तथा प्राविधिकलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।
अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहनुभएको आयोजकले जनाएको छ ।
निर्णायक समितिका संयोजक हरिहर शर्माले निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गरिएको बताउनुभयो । “हरेक अवार्डमा विजेता खुसी र छुट्ने पक्ष असन्तुष्ट हुन सक्छन् । तर हाम्रो समितिले कुनै पूर्वाग्रह नराखी विवेकपूर्ण र निष्पक्ष ढङ्गले निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।
अवार्ड समारोहमा कूल ३२ विधामा पुरस्कार प्रदान गरिनेछ । दीर्घसाधना सम्मानबाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई रु एक लाख ११ हजार १११ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरि, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारीलगायत चलचित्रकर्मीको उपस्थिति थियो ।
Leave A Reply

Your email address will not be published.