काठमाडौँ :
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा)–२०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। इन्फा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो।
यस वर्ष २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्ये अनुभवी तथा स्वतन्त्र निर्णायक मण्डलले गरेको निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको आयोजकले जनाएको छ। निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका थिए।
मनोनयन सार्वजनिक गर्नुअघि मनोनयनमा परेका चलचित्र तथा चलचित्रकर्मीहरूको परिचय समेटिएको श्रव्यदृश्य (एभी) प्रस्तुति प्रदर्शन गरिएको थियो। त्यसपछि प्रत्येक विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकार, निर्माता, निर्देशक, लेखक तथा प्राविधिकलाई मञ्चमा आमन्त्रण गरी मनोनयन प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, कलाकार, निर्माता, निर्देशक, लेखक, प्राविधिक, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो। साथै बेलायतमा रहेका इन्फा परिवारका पदाधिकारीहरूको स्वागत तथा शुभकामना भिडियो सन्देशसमेत प्रदर्शन गरिएको थियो।
निर्णायक मण्डलका सदस्य वरिष्ठ अभिनेता हरिहर शर्मा र वरिष्ठ अभिनेत्री गौरी मल्लले इन्फा अवार्ड निष्पक्ष, पारदर्शी र विश्वसनीय हुने बताउँदै अवार्डको नतिजा निर्धारणमा आयोजकको कुनै पनि भूमिका नरहने स्पष्ट पारे। उनीहरूले सम्पूर्ण मूल्याङ्कन निर्णायक मण्डलले प्रदान गरेको अङ्कका आधारमा मात्र गरिएको उल्लेख गर्दै स्वस्थ प्रतिस्पर्धाले नेपाली चलचित्र उद्योगलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
निर्देशक तथा अवार्ड चिफ कोअर्डिनेटर मनिष कार्कीले बेलायतमा सफलतापूर्वक सम्पन्न पहिलो र दोस्रो संस्करणको अनुभवलाई आत्मसात् गर्दै यस वर्षको इन्फा अवार्ड नेपालमै अझ भव्य, सभ्य र अन्तर्राष्ट्रिय स्तरमा आयोजना गरिने जानकारी दिए। उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै विश्वसामु नेपाली चलचित्रको पहिचान स्थापित गर्ने इन्फाको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।
यसै अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ। उक्त नगद पुरस्कार एचटीआर केयर एन्ड रिक्रुटमेन्टको प्रायोजनमा प्रदान गरिने आयोजकले जनाएको छ।
इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण क्रमशः सन् २०२४ र २०२५ मा बेलायतको लन्डनमा सफलतापूर्वक सम्पन्न भएका थिए। तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो। आगामी साउन ३० गते काठमाडौँस्थित होटल याक एन्ड यतीमा आयोजना हुने अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। अवार्ड समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट गरिने आयोजकले जानकारी दिएको छ।
तेस्रो इन्फा अवार्ड २०२६ को उत्कृष्ट ५ को मनोनयन:
१. उत्कृष्ट चलचित्र
-
आ बाट आमा – चन्द्र पन्त
-
ऊनको स्विटर – आर्टमाण्डु नेपाल
-
कोशेढुङ्गा – पदमबहादुर श्रेष्ठ
-
जेरीः अन टप – सरोज न्यौपाने
-
परान – रञ्जित आचार्य–शेखर गोल्छा
२. उत्कृष्ट निर्देशक
-
दीपकप्रसाद आचार्य – परान
-
नवीन चौहान – ऊनको स्विटर
-
सरोज पौडेल – कोशेढुङ्गा
-
सुदिप्ता – रमिताको पिरती
-
सुयोग गुरुङ – जेरीः अन टप