सुचना, समाचार र मनोरन्जन

साहारा एकेडेमीका लागि अष्ट्रेलियाबाट सहयोग, च्यारिटी डिनरबाट समर्थन जुट्दै

पोखरा,

पोखरास्थित साहारा एकेडेमीमा आश्रित विपन्न तथा अनाथ बालबालिकाको खेलकुद तथा शैक्षिक विकासमा सहयोग जुटाउने उद्देश्यले साहारा क्लब अष्ट्रेलियाले सिड्नीमा च्यारिटी डिनर तथा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ।

सिड्नीको रकडेलस्थित द मुग्लान रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा संकलित सम्पूर्ण रकम साहारा एकेडेमीलाई हस्तान्तरण गरिने साहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले जानकारी दिए। उनका अनुसार कार्यक्रममा सहभागी हुन नसकेका खेलप्रेमी तथा शुभेच्छुकहरूले पनि विशेष संस्करणको जर्सी र स्कार्फ बुकिङ गरेर अभियानमा सहभागी हुन सक्नेछन्।

कार्यक्रममा नेपाली फुटबलको विकास, युवा खेलाडी उत्पादन, पूर्वाधार विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिबारे समेत छलफल गरिएको थियो। साथै जारी फिफा विश्वकपका खेलहरूको विश्लेषण र समीक्षा पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष विजय राउत, तमुधीं अष्ट्रेलियाका अध्यक्ष हिउपति गुरुङ, पूर्व तथा भेट्रान फुटबल खेलाडी, खेलकर्मी र अष्ट्रेलियास्थित नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो।

यही अवसरमा आहा–रारा गोल्डकपको २५औँ वर्षगाँठका अवसरमा तयार गरिएको ‘सिल्भर जुबिली एडिसन’ जर्सी र सीमित संस्करणको स्कार्फ पहिलोपटक अष्ट्रेलियामा सार्वजनिक गरिएको थियो। कार्यक्रममा अधिकांश सहभागीले जर्सी र स्कार्फ खरिद गर्दै साहारा क्लबको सामाजिक अभियानमा ऐक्यबद्धता जनाएका थिए।

साथै आगामी १०औँ साहारा अष्ट्रेलिया कप–२०२६ का लागि सहभागी हुन इच्छुक क्लबहरूबाट ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ पनि आह्वान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार खेल, समाजसेवा र नेपाली समुदायलाई एउटै उद्देश्यमा जोड्ने प्रयासस्वरूप आयोजित कार्यक्रमले साहारा एकेडेमीका बालबालिकाको भविष्य निर्माणमा सहयोग पुर्‍याउनुका साथै नेपाली फुटबलप्रति प्रवासी नेपालीको प्रतिबद्धतालाई पनि थप मजबुत बनाएको छ।

Leave A Reply

Your email address will not be published.