सुचना, समाचार र मनोरन्जन

‘सस्तो स्टन्टले देश बन्दैन, दैनिक रोजगारी सिर्जनाको सूची सार्वजनिक गरियोस्’ : अभिनेत्री केकी अधिकारी

काठमाडौँ :

नेपाली चलचित्र क्षेत्रकी स्थापित तथा बौद्धिक अभिनेत्रीका रूपमा चिनिने केकी अधिकारीले मुलुकको पछिल्लो राजनीतिक तथा प्रशासनिक शैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छिन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सस्तो लोकप्रियताका लागि गरिने प्रचारबाजी (स्टन्ट)ले देश नबन्ने जिकिर गरेकी हुन्। नेतृत्व तहलाई लक्षित गर्दै अभिनेत्री अधिकारीले अब जनताले कुराभन्दा पनि कामको ठोस परिणाम खोज्ने बेला आइसकेको उल्लेख गरेकी छिन्।

अभिनेत्री अधिकारीले सरकार र सरोकारवाला निकायहरूलाई हरेक दिन कति रोजगारी सिर्जना भयो र कति नेपालीले काम पाए भन्ने कुराको पारदर्शी फेहरिस्त सार्वजनिक गर्न चुनौती दिएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘स्टन्टले देश बन्दैन। हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियोरु कतिले रोजगारी पाएरु अब जनताले सोध्ने दिन आए। खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला। जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन।

सामाजिक र समसामयिक विषयमा प्रस्ट र तार्किक धारणा राख्न रुचाउने केकीको यो विचारले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। प्रचारमुखी कामभन्दा पनि दैनिक रूपमा कति नागरिकले प्रत्यक्ष रोजगारी पाए भन्ने तथ्याङ्क सार्वजनिक हुनुपर्ने उनको तर्क छ। युवा वर्ग र आम नागरिकमा व्याप्त चरम निराशालाई हटाउन गफ र सस्तो लोकप्रियताभन्दा पनि वास्तविक रोजगारी सिर्जना नै एकमात्र अचुक ओखती हुने उनले औंल्याएकी छिन्। उनको यस भनाइलाई धेरै सर्वसाधारण तथा प्रशंसकहरूले समर्थन गर्दै देश विकासका लागि रोजगारी सिर्जना नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.