शुभप्रभात,
२०८३ असार ३१ गते (१५ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, १३ः०१ बजेपछि द्वितीया। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही राम्रा अवसर प्राप्त हुने समय छ। तर पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तत्काल निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
वृष –
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, हा
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो जमघटमा सहभागी बन्ने समय छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। केही समय लागे पनि लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ र कामना पूर्ण हुनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। खर्च लागे पनि समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। यात्रा गर्न हतार नगर्नुहोला।
कन्या –
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनले फाइदा दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।
तुला –
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
बृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा लामो समयसम्म अलमलिनुपर्ने देखिन्छ।
धनु –
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ।
मकर –
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलि कमजोर रहला।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने व्यर्थैमा अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
सबैको दिन शुभ रहोस….