काठमाडौं :
डी.एस. इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘हवन’ को छायांकनकार्य सम्पन्न भएको छ। सामाजिक यथार्थमा आधारित यस चलचित्रले समाजका पछाडि पारिएका वर्गको संघर्ष, मानव तस्करी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय आपराधिक माफिया सञ्जालविरुद्धको कथालाई मुख्य विषयवस्तु बनाएको निर्माण पक्षले जनाएको छ।
चलचित्रका निर्माता प्रकाश अभिराज हुन् भने कथा, पटकथा तथा निर्देशन शिव आचार्य ले गरेका छन्। निर्माण टिमका अनुसार चलचित्रले मनोरञ्जनसँगै समाजमा विद्यमान विकृति र विसंगतिविरुद्ध सशक्त सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।
चलचित्रमा नेपाली तथा भारतीय कलाकारहरूको सशक्त अभिनय रहेको छ। कलाकारहरूमा राजेन्द्र खड्की, पुजना प्रधान, द्रोण के.सी., प्रकाश अभिराज, रजनी के.सी., शिव आचार्य, पनाह अधिकारी, श्रेया दुलाल, भगवान भण्डारी, काजीमान महर्जन, बिजेन भाटी, भेषराज जैसी, ओजस्वी आचार्य, रसिला श्रेष्ठ, राजु सुवेदी, लालवीर बी.क., अनिस सेडाई, शिवराज रिमाल, कमला के.सी. लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। अन्य कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रहेको छ।
चलचित्रको छायांकन रामकृष्ण चौलागाईं र शिव पन्त ले गरेका हुन्। गीत–संगीतमा सुरेन सिर्जन र वीरेन्द्र खड्का को शब्द तथा संगीत रहेको छ भने सिम्रन परियार, तृप्ती खड्का गुरुङ र वीरेन्द्र खड्का ले स्वर दिएका छन्। त्यसैगरी चलचित्रको द्वन्द्व निर्देशन राजु किरात, नृत्य निर्देशन विवेक थापा र अर्जुन सिलवाल, शृंगार गोपी हमाल, क्रिएटिभ डाइरेक्टर सुधान्शु पाण्डे तथा मुख्य सहायक निर्देशक सुरेन सिर्जन रहेका छन्।
पोखरा, मनाङ, मुस्ताङ, पाल्पा लगायत देशका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रको सम्पादन कार्य हाल ग्लोबल रिल मोसन पिक्चर्स मा भइरहेको छ। निर्माण पक्षका अनुसार केही दिनभित्रै चलचित्रको विशेष आइटम गीत सार्वजनिक गरिनेछ भने त्यसपछि पोस्टर, टिजर, ट्रेलर तथा प्रदर्शन मिति सार्वजनिक गरिने तयारी भइरहेको छ।
निर्माता प्रकाश अभिराज का अनुसार चलचित्रले मनोरञ्जन मात्र नभई समाजमा जरा गाडेर बसेका अपराध, मानव तस्करी र अन्यायविरुद्ध सचेतना फैलाउने विश्वास व्यक्त गरे। उनले भने, “हामीले ‘हवन’लाई केवल चलचित्रका रूपमा होइन, समाजलाई सोच्न बाध्य बनाउने एउटा सशक्त कथाका रूपमा निर्माण गरेका छौं। यसमा दर्शकले मनोरञ्जनसँगै यथार्थको अनुभूति पनि गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। सम्पूर्ण टिमले अथक मेहनतका साथ चलचित्र तयार गरेको छ, जसको नतिजा दर्शकले पर्दामा अनुभूति गर्नुहुनेछ।”
निर्देशक शिव आचार्य ले ‘हवन’ आफ्नो करियरकै चुनौतीपूर्ण र महत्त्वाकांक्षी परियोजनामध्ये एक भएको बताए। उनले भने, “हामीले समाजमा भइरहेका यथार्थ घटनालाई सिनेमाको माध्यमबाट जिम्मेवारीपूर्वक प्रस्तुत गर्ने प्रयास गरेका छौं। कथादेखि कलाकारको अभिनय, प्राविधिक पक्ष र दृश्य निर्माणसम्म हरेक पक्षमा विशेष मिहिनेत गरेका छौं। दर्शकले एउटा फरक स्वाद र बलियो सन्देश बोकेको चलचित्र हेर्न पाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।”
सामाजिक यथार्थ, सशक्त कथा, अनुभवी कलाकार, आकर्षक छायांकन र उत्कृष्ट प्राविधिक पक्षका कारण ‘हवन’ यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्रमध्ये एक बन्ने निर्माण टिमको विश्वास रहेको छ।