काठमाडौँ,
मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा सुरु भएको वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ ।
सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो । असार २५ गते जनकपुरबाट मार्च पाससहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले वार्ताको सुरुवात गरेका थिए ।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो । त्यसपछि सङ्घर्ष समितिका अगुवाहरू बिहीबारै बाराबाट काठमाडौँ आएका थिए।
वार्ता मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटासहित गृह, भूमि, अर्थ मन्त्रालयका सहसचिवहरू सहभागी छन् ।
मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाह, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राना मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनअधिकार नेपालका निर्ग नवीन सहभागी छन् ।