सुचना, समाचार र मनोरन्जन

‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका

काठमाडौं :

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरिएको हो, जहाँ चलचित्रका मुख्य कलाकार र प्राविधिक टोलीको बाक्लो उपस्थिति रहेको थियो। चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले कार्यक्रममा उपस्थित भई चलचित्रका कलाकार तथा सिंगो टिमलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रमा नेपाली सञ्चार र संगीत क्षेत्रका बहुचर्चित अनुहारहरूको अभिनय देख्न पाइनेछ। चलचित्रमा बहुचर्चित लोक गायक पशुपति शर्मा, चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं र नरेश पौडेल जस्ता स्थापित तथा नवोदित कलाकारहरूको मुख्य अभिनय रहनेछ। यसका साथै चलचित्रमा सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना तथा राजु तिमल्सिना लगायतका कलाकारहरूको समेत सशक्त अभिनय रहनेछ। कलाकारहरूको यो भिडले चलचित्रलाई निकै रमाइलो र कौतुहलतापूर्ण बनाउने अपेक्षा गरिएको छ।

चलचित्रका मुख्य कलाकार समेत रहेका चर्चित गायक पशुपति शर्माले नै चलचित्रका गीतहरू तयार गर्नेछन् भने अभिनेताहरूको आकर्षक लुक्सका लागि शमशेर लामाले शृंगार र जीवन पोखरेलले भेषभुषाको जिम्मेवारी सम्हाल्नेछन्। पूर्ण मनोरञ्जनात्मक कमेडी विधामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले दर्शकलाई हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको फरक स्वाद दिने निर्देशक अमरदीप सापकोटाले बताउनुभएको छ।

यही सातादेखि छायाङ्कन सुरु हुन लागेको यस चलचित्रको छायाङ्कन संकल भुजेलले गर्नेछन्। रघुनाथ सापकोटा निर्माता र निरज नेपाल कार्यकारी निर्माता रहेको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने नेपालभर प्रदर्शनका लागि आरआर फिल्म्सले वितरणको जिम्मेवारी सम्हालेको छ। कलाकारहरूको बलियो टिम र उत्कृष्ट कमेडी कथावस्तुका कारण यो चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष निकै आशावादी देखिएको छ।

Leave A Reply

Your email address will not be published.