सुचना, समाचार र मनोरन्जन

टिकटमा ५० प्रतिशत छुटको कमाल: १ करोड ७७ लाख कमाउँदै ‘रोल नं १’ ५१औँ दिनमा

काठमाडौं :

चलचित्र ‘रोल नं १’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । जेठ १५ गतेबाट प्रदर्शन आएको चलचित्र आज ५१औँ दिनमा प्रवेश गरेको हो ।

यो सिनेमाले आधा दर्जन भन्दा बढी हलमा ५१औँ दिन मनाएको छ। निर्माणपक्षका अनुसार कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, बनेपास्थित शुभकामना सिनेमा, धनगढीस्थित एसटीएस इन्टरटेन्मेन्ट, इटहरीस्थित इलाइट सिनेमा, कावासोतीस्थित कावासोती सिनेमा, विराटचोकस्थित विराट सिनेमा र इलामस्थित फ्रेन्ड्स सिनेमा हलहरुमा ५१औँ दिन मनाउन सफल भएको छ।

यो चलचित्रले गत आइतबारसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ। अहिले यो चलचित्र दर्शकले आधा मूल्यमै हेरिरहेका छन् । असारको पहिलो सातादेखि निर्माणपक्षले ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गरिरहेको छ ।

विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका थिए ।

शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब,अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन्। चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.