गण्डकी,
पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ ।
पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिनलाई पक्राउ गरिएको हो ।
यस्तै स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार विक, कास्कीको पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङको बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडीलगायतका सामग्री बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएयो ।
पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । केही समयदेखि पोखराका विभिन्न ठाउँमा भइरहेका चोरीका घटनाको सुक्ष्म अनुसन्धान गर्दा उक्त गिरोह पक्राउ परेको प्रहरीले जनाएको छ ।