सुचना, समाचार र मनोरन्जन

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौँ,

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन जारी गरेको छ ।
विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई मङ्गलबार परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विगतमा हेल्लो सरकार, मन्त्रालय वा विभागलगायत विभिन्न माध्यमबाट आएका वा सिधै कार्यालयमा दिइएका उजुरी समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको गुनासो आएपछि विभागले यस्तो परिपत्र जारी गरेको हो ।
श्रमिकका उजुरी वा निवेदन प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुपर्ने तथा सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ बमोजिम कर्मचारीले आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
कुनै विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएमा सोको जानकारी तत्काल सेवाग्राहीलाई गराई सम्बन्धित निकायमा पठाउनुपर्ने तथा श्रमिकका उजुरीउपर प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिने व्यवस्था मिलाउन पनि भनिएको छ ।
श्रम कानुनअनुसार वार्ता गराउने र वार्ताबाट समाधान नभएमा कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने तथा श्रम अदालत र कार्यालयबाट भएका आदेश वा निर्णय समयमै कार्यान्वयन गर्नुपर्नेलगायत विषय विभागले जारी गरेको परिपत्रमा उल्लेख छ ।
हेल्लो सरकारबाट प्राप्त गुनासो सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउनसमेत विभागले निर्देशन दिएको छ ।
Leave A Reply

Your email address will not be published.