काठमाडौं : अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै बित्ने गर्दछ । मनसुनी अवधिमा बढेको हुन्छ सर्पदंशको त्रासदी । विशेषगरी तराईका जिल्लामा मनसुन सुरु भएसँगै सर्पदंशका घटना बढ्न थाल्छन् ।
बिहान खेतमा पुगेको किसनालाई बेलुका सकुशल घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्रास हुन सक्छ । दिनभर खेतमा काम गर्ने किसान मात्र होइन, राति आफ्नै घरमा सुतेका मानिस पनि सुरक्षित महसुस गर्न सक्दैनन् । घरभित्र निदाइरहेका मानिस, खेलिरहेका बालबालिका, बिहानै उठेर गोठतिर लागेका गृहिणी, घाँस काट्न वा धान खेतलाई पानी लगाउन गएका किसान जो कोही पनि सर्पदंशको शिकार बन्ने गरेका छन् । धेरै परिवारका लागि वर्षायामको रात चिन्ताको रात बन्ने गरेको छ ।
चितवन जमुनापुरमा बस्ने विमला ढकाल पनि हरेक मनसुन यही त्राससँग बाँचिरहेकी छिन् । खेतमा काम गर्न जाँदा उहाँको ध्यान धानभन्दा बढी वरिपरि सर्प छ कि छैन भन्नेमा जान्छ । “काम नगरी खान पनि पुग्दैन । खेतमा नगई विकल्प छैन तर काम गर्न जाँदा सर्प आउँछ कि भन्ने डर लागिरहन्छ । बारीमा मात्रै होइन, कहिलेकाहीँ त घरमा झुलभित्रै पनि पस्दोरहेछ, “उनले भनिन् ।
ढकालको चिन्ता त्यतिमै सीमित छैन । घरमा प्रायः एक्लै बस्नुपर्ने भएकाले आकस्मिक रूपमा सर्पले टोके कसरी अस्पताल पुग्ने भन्ने प्रश्नले उनलाई झन बढी सताउँछ । उनलाई मात्रै होइन बाराको सिम्रौनगढ नगरपालिका–२ का चुरे अभियन्ता समेत रहेका सुनिल यादवलाई वर्षायामसँगै सर्पदंशको उत्तिकै चिन्ता हुन्छ । मनसुनको सर्पदंशको समयमा उहाँलाई आफ्नोभन्दा बढी चिन्ता आफ्ना साना छोराछोरीको हुन्छ । “बच्चाहरू कतिखेर कहाँ पुग्छन् भन्ने नै थाहा हुँदैन,उनी भन्छन्, “तर यस समयम विशेष सतर्कता अपनाउँदै सर्प आउने डरले उनीहरूलाई जथाभावी खेल्न दिँदैनौँ । राति राम्रोसँग झुल लगाएर सुत्न भन्छौँ तर त्यसले मात्र मन ढुक्क हुँदैन ।”
उनका अनुसार तराई क्षेत्रमा धेरै परिवार अझै शौचालयविहीन छन् । राति शौच गर्न बाहिर निस्कनुपर्ने बाध्यताले पनि सर्पदंशको जोखिम बढाएको छ । गाउँघरका झाडी, खेतका आली र मुसाले बनाएका प्वाल सर्पका सुरक्षित वासस्थान बनेका छन् ।
किसानको अवस्था अझ चुनौतीपूर्ण रहेको उनी बताउँछन् । “सिँचाइका लागि पानी नपरेको बेला राति मोटर चलाउन खेत पुग्नुपर्ने हुन्छ । अँध्यारोमा खेतको आली हुँदै हिँड्दा सर्पसँगको जम्काभेट कुनै पनि बेला हुनसक्छ”, टेलिफोन वार्तामा उनले भने, “खेतका आलीमा मुसा धेरै हुन्छन्, मुसाको खोजीमा त्यहाँ सर्प पनि आउँछ ।” यादवका अनुसार सर्पदंशबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको व्यक्तिगत सतर्कता नै हो । “बच्चालाई जताततै खेल्न नदिने, राति टर्च बोकेर हिँड्ने, खेतबारीमा बुट लगाउने र वरिपरिको झाडी सफा राख्ने बानी बसाल्नुपर्छ”, उनको सुझाव छ ।
सबैभन्दा बढी सर्पदंशबाट मृत्यु
मनसुनसँगै बाढी, पहिरो र डुबानको चर्चा बढी हुने गरे पनि पछिल्ला तथ्याङ्कले नेपालमा यसवर्ष सबैभन्दा धेरै ज्यान लिने विपद् सर्पदंश बनेको देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि साउन १० गतेसम्म सर्पदंशका ६६१ घटना भएका छन् । ती घटनामा ५३ जनाले ज्यान गुमाएका छन् भने ५७२ जना घाइते भएका छन् । यस अवधिमा ६२२ परिवार प्रभावित बनेका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार यही अवधिमा विपद्जन्य घटनामध्ये सबैभन्दा धेरै मृत्यु सर्पदंशबाट भएको छ । चट्याङ लागेर २५ जनाको मृत्यु भएको छ भने लेक लागेर २१, आगलागीबाट १९, जनावरको आक्रमणबाट १७, बाढीबाट १३ र पहिरोबाट पनि १६ जनाले ज्यान गुमाएका छन् । भारी वर्षाका कारण चार तथा डुङ्गा पल्टिँदा दुईको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । साउन ७ गतेदेखि साउन ८ गतेसम्मको २४ घण्टामा मात्रै सर्पदंशका १६ घटना दर्ता भएका छन् । प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले मनसुनमा सर्पदंशको समस्या जनस्वास्थ्यको गम्भीर सङ्कट रहेको भन्दै प्राधिकरणले समस्या न्यूनीकरणका लागि सचेतना तथा अन्तरसरकारी निकायबीच समन्वय बढाइएको जानकारी दिए ।
सर्पदंशबाट महिलाहरू बढी प्रभावित
सर्पदंशको जोखिम सबैका लागि समान देखिए पनि यसको असर भने महिलामाथि बढी परेको तथ्याङ्कले देखाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार २०७४ सालदेखि २०८३ सालसम्म सर्पदंशका एक हजार २१८ घटना दर्ता भएका छन् । ती घटनामा २५९ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमध्ये १३२ जना महिला र १२१ जना पुरुष रहेका छन् । यसमा सर्पदंशबाट महिलाको मृत्यु सङ्ख्या पुरुषभन्दा बढी रहेको देखाउँछ । यस अवधिमा ९७६ जना घाइते भएका छन् । घाइतेमध्ये ५४२ जना महिला र ४३४ जना पुरुष छन् । सर्पदंशका घटनाबाट एक हजार २२६ परिवार प्रत्यक्षरूपमा प्रभावित भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार ग्रामीण क्षेत्रमा महिलाहरू खेतमा धान रोप्ने, घाँस–दाउरा संकलन गर्ने, पशुपालन गर्ने तथा राति घरायसी कामका लागि बाहिर निस्कने भएकाले उनीहरू बढी प्रभावित हुने गरेका छन् । प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले सर्पदंश रोकथामसम्बन्धी जनचेतना, सुरक्षित कार्य अभ्यास र उपचार सेवाको पहुँचमा प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार सर्पको टोकाइबाट मृत्यु भएमा दुई लाखसम्म क्षतिपूर्ति दिने व्यवस्था छ ।
सर्पको वासस्थानबारे अध्ययन सुरू गरिने
प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले सर्पदंशका घटना न्यूनीकरण गर्न सर्पको वासस्थान र आवतजावत हुने क्षेत्रको अध्ययन सुरु गरिने बताएका छन् । उनले सर्प कहाँबाट आउने, कस्तो वातावरण र बासस्थानमा बस्ने तथा मानिससँगको सम्पर्क किन बढिरहेको छ भन्ने विषयमा अध्ययन गरिने जानकारी दिए । “सर्पको वासस्थान र आवतजावत हुने क्षेत्रको अध्ययन गरेर जोखिम न्यूनीकरणका उपाय अघि बढाउँछौँ”, उनले भने ।
उप्रेतीका अनुसार सर्पदंशका घटना बढी हुने क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी सर्प उद्धार तथा व्यवस्थापनको प्रणाली विकास गरिनेछ । जोखिमयुक्त बस्तीमा जनचेतना अभिवृद्धि, उद्धार टोलीको क्षमता विकास तथा स्थानीयस्तरमै तत्काल प्रतिकार्य गर्न सकिने संयन्त्र निर्माणमा पनि जोड दिइने उनले बताए । डा उप्रेतीले सर्पदंशलाई वर्षायाममा देखिने प्रमुख विपद्का रूपमा लिएर यसको रोकथाम र न्यूनीकरणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए ।
मनसुनमै बढ्छन् बिरामीको सङ्ख्या
मनसुन सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गरेको बताउँछन् वीर अस्पतालका विशेषज्ञ डा सुनिल विश्वकर्मा । “अहिले अस्पतालमा दैनिक औसत चार जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये अधिकांश बिरामी तराईका जिल्लाबाट आउने गरेका छन् भने सर्लाहीबाट आउने बिरामीको सङ्ख्या तुलनात्मक रूपमा बढी रहेको छ”, उनले भने, “सर्पले टोकेपछि समय खेर फाल्नु हुँदैन । बिरामीलाई सकेसम्म चाँडो नजिकको स्वास्थ्य संस्थामा पु¥याएर प्रारम्भिक उपचार गराउनुपर्छ । त्यसपछि विषालु सर्पले टोकेको हो वा होइन भन्ने चिकित्सकीय रूपमा पुष्टि गर्नुपर्छ ।”
उनका अनुसार विषालु सर्पले टोकेको पुष्टि भएपछि मात्र सरकारले तोकेका एन्टिस्नेक भेनम (एन्टिभेनम) उपलब्ध हुने स्वास्थ्य संस्थामा लगेर उपचार गर्नुपर्छ । डा विश्वकर्माले सर्पदंशपछि धामी–झाँक्रीकोमा जाने, घाउ काट्ने, विष चुस्ने वा कसिलो डोरी बाँध्ने जस्ता परम्परागत अभ्यासले बिरामीको अवस्था झन जटिल बनाउनसक्ने भएकाले यस्ता कार्य नगर्न पनि आग्रह गरे । उनले सर्पदंशलाई चिकित्सा आपत्कालीन अवस्था मान्दै ढिलाइ नगरी उपचारमा पुग्न सबैलाई अनुरोध गरे ।
समयमै उपचार पाए जोगिन्छ ज्यान
मनसुन सुरु भएसँगै नेपालका तराई तथा भित्री मधेसका जिल्लामा सर्पदंशका घटना बढ्न थालेको प्राधिकरणको भनाइ छ । खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा सङ्कलन गर्ने, माछा मार्ने तथा भुइँमा सुत्ने बानी भएका ग्रामीण बासिन्दा सर्पदंशको बढी जोखिममा पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्पदंशलाई सामान्य घटना नठानी समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न आग्रह गरेको छ । केन्द्रका निर्देशक डा राधिका थपलियाले वर्षायाममा सर्पदंशको जोखिम अझ बढ्ने गरेको भन्दै समयमा नै उपचार गरेमा ज्यान जोगिन सक्ने बताए ।
बिरामीलाई नआत्तिन दिने, शान्त राख्ने, टोकेको अङ्गलाई कम चल्ने गरी स्थिर राख्ने र सकेसम्म छिटो एन्टिस्नेक भेनम उपलब्ध स्वास्थ्य संस्थामा पु¥याउनु नै सबैभन्दा प्रभावकारी उपाय रहेको थपलियाको भनाइ छ । “हामीले सर्पदंशबाट बच्नका लागि व्यापक रुपमा चनचेता अभिवृद्धि गर्दै आइरहेका छौँ तर समयमा नै अस्पताल आउनुभन्दा अझै पनि धामीझाँक्री लगाउने चलन छ । बिरामीले समयमा नै उपचार नपाएर ज्यान जाने गरेको छ ।”
समयमा नै अस्पताल नपुग्ने समस्या
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा मिलन बज्राचार्यले सर्पले टोकेको ठाउँ काट्ने, विष चुस्ने, कसिलो डोरी बाँध्ने (टर्निकेट प्रयोग गर्ने) वा धामी–झाँक्री तथा घरेलु उपचारमा समय खर्च गर्नेजस्ता अभ्यासले बिरामीको अवस्था थप जटिल बनाउन सक्ने बताए ।
“उपचारको सुविधा भए पनि सर्पले टोकेपछि समयमा नै अस्पताल नपुग्ने समस्याका कारण धेरैले अकालमा नै ज्यान गुमाएका छन् । अझै पनि चनचेतनाको अभाव देखिएको छ”, उनले भने, “सर्पदंशमा सबैभन्दा प्रभावकारी उपचार भनेको समयमै स्वास्थ्य संस्थामा पुग्नु हो । सही समयमा उपचार पाए धेरैजसो बिरामीको ज्यान बचाउन सकिन्छ ।”
सर्पदंशबाट बच्न रातिको समयमा टर्च लाइटको प्रयोग गर्ने, खेतबारी तथा झाडीमा काम गर्दा बुट र लामो कपडा लगाउने, घर वरिपरिका झाडी सफा राख्ने, मुसा नियन्त्रण गर्ने तथा भुइँमा सुत्नुभन्दा खाटमा सुत्ने बानी बसाल्न पनि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सुझाव दिएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा सर्पदंश अझै पनि ग्रामीण क्षेत्रमा एउटा प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा रहेको छ । उपचारमा ढिलाइ, अन्धविश्वास र स्वास्थ्य सेवामा ढिलो पहुँचका कारण धेरै बिरामीले ज्यान गुमाउने गरेका छन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मनसुनको समयमा खेतबारी र ग्रामीण बस्तीमा सर्पसँगको मानवीय सम्पर्क बढ्ने भएकाले स्वास्थ्य मन्त्रालयले सचेत रहन, सही जानकारी फैलाउन र सर्पदंशलाई सामान्य रूपमा नलिन सबैमा आग्रह गरेको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषका अनुसार नेपालमा गोमन, राजगोमन, करेत, ठूलो कालो करेत, सानो कालो करेत, ब्यान्डेड करेत, रसेल्स भाइपर, मोनोकल्ड कोब्रालगायतका विशालु प्रजातिका सर्पहरु पाइने गर्दछन् ।