पोखरा,
व्यवसायी अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि पुनः उम्मेदवारी घोषणा गरेका छन्। उनले कठिन अवस्थामा निजी क्षेत्रको हित संरक्षण गर्दै संघलाई सबै तहका उद्योगी–व्यवसायीको साझा घरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
पोखरेलले व्यवसाय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको भन्दै आफू पनि व्यवसायी भएकाले उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या प्रत्यक्ष रूपमा अनुभूत गरेको बताएका छन्। विगतका दुई निर्वाचनमा परिणाम आफ्नो पक्षमा नआए पनि व्यवसायी र साझा मुद्दाबाट आफू कहिल्यै टाढा नरहेको उनको भनाइ छ।
उनले पोखरा उद्योग वाणिज्य संघलाई ‘ग्रेटर पोखरा’को अवधारणाअनुसार विस्तारित गर्दै पोखरा आसपासका क्षेत्रलाई विश्व बजारमा प्रवद्र्धन गर्न निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने बताएका छन्।
पोखराको आर्थिक विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न राज्यका निकायसँग निरन्तर संवाद र दबाब कायम गर्ने उनको प्रतिबद्धता छ। अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि व्यावसायिक दूत परिचालन तथा माइस पर्यटनमार्फत द्विपक्षीय अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्।

त्यस्तै, साना, मझौला र ठूला उद्योगी–व्यवसायी सबैको समान सहभागिता र आवाज सुनिश्चित गर्ने प्रणाली विकास गर्ने, साना तथा घरेलु उद्योगलाई वित्तीय पहुँच र बजारको सुनिश्चितताका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ।
व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि संघमार्फत सशक्त पैरवी गर्ने बताउँदै पोखरेलले निजी क्षेत्रमाथि भइरहेको ‘धरपकड’लाई संवादमार्फत समाधान गर्न पहल गर्ने उल्लेख गरेका छन्।
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई पोखरामै रोक्दै उद्यमशीलतामा आकर्षित गर्न सीप, उद्यम र बजारबीच तादात्म्यता मिलाउने दिगो मोडेल विकास गर्ने उनको योजना छ।
‘नेतृत्वको परीक्षण कठिन समयमा हुने’ भन्दै पोखरेलले अहिले निजी क्षेत्र र पोखरा उद्योग वाणिज्य संघले चुनौतीपूर्ण समय सामना गरिरहेको बताए। यस्तो अवस्थामा सदस्यहरूको बलियो खम्बाका रूपमा उभिनु नै नेतृत्वको प्रमुख दायित्व भएको उनको भनाइ छ।
पोखरेलले शंकर पेपर वक्र्स, माउण्टेन भ्यू रिसोर्ट र ओमना टुर्स एण्ड ट्राभल्समा व्यावसायिक संलग्नता रहेको बताएका छन्। उनले आफ्नो निष्ठा, धैर्यता र निरन्तर क्रियाशीलतालाई उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै व्यवसायीको विश्वास र मतको अपेक्षा गरेका छन्।