सुचना, समाचार र मनोरन्जन

बक्स अफिसमा ‘मास्टर्नी’ सुस्त, ‘गौँथली’को कमाइ साढे २५ करोड पार

काठमाडौँ :

अभिनेत्री प्रियंका कार्की अभिनीत फिल्म ‘मास्टर्नी’को बक्स अफिस व्यापार सुस्त देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो ‘सिनेपा’ विवरण अनुसार भदौ ५ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पहिलो १० दिनमा ४० लाख रुपैयाँको आँकडा समेत पार गर्न सकेन। सो अवधिभर ११ हजार ९९६ वटा टिकट बिक्रीबापत चलचित्रले कुल ३९ लाख ५२ हजार ८५९ रुपैयाँ मात्र ग्रस कमाइ गरेको छ।

यसैबिच, सर्वकालीन ब्लकबस्टर फिल्म ‘गौँथली’ले भने घरेलु बक्स अफिसमा साढे २५ करोड रुपैयाँभन्दा बढीको विशाल व्यापार गरेको छ। बोर्डको विवरण अनुसार भदौ १४ गतेसम्म ९ लाख ३१ हजार ६२७ वटा टिकट बिक्री हुँदै फिल्मले कुल २५ करोड ६८ लाख ६२ हजार ८० रुपैयाँ ग्रस कलेक्सन गरिसकेको हो।

त्यस्तै, साउन २२ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘हली’ले ८ हजार ४६३ वटा टिकट बिक्री गर्दै २३ लाख ११ हजार २७० रुपैयाँ ग्रस कमाएको छ भने साउन २९ गतेबाट प्रदर्शनरत राजबहादुर साने निर्देशित फिल्म ‘लज्जावती’ले १७ दिनमा २ हजार ७३५ जना दर्शक साथ ७ लाख ७५ हजार ४७० रुपैयाँ मात्र व्यापार गरेको छ।

Leave A Reply

Your email address will not be published.