पोखरा,
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा व्यवसायी तथा सामाजिक अभियन्ता मनोहरी पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन्। क्रम संख्या ९ का उम्मेदवार पौडेलले व्यवसायीको हकहित र संस्थागत सुदृढीकरणका लागि आफूलाई विजयी गराउन आग्रह गरेका छन्।
लामो समयदेखि व्यापार–व्यवसायसँगै सामाजिक तथा संस्थागत क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुईन्स कलेक्सनका सञ्चालक हुन्। उनले यसअघि पोखरा उद्योग वाणिज्य संघमा आर्थिक वर्ष २०८२र८३ मा मनोनीत कार्यसमिति सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
व्यवसायीका समस्या नजिकबाट बुझेका पौडेलले संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ।
पौडेल विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा पनि सक्रिय छन्। उनी बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका उपाध्यक्ष, त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखराका अध्यक्ष तथा सुकमैदान सिर्जनशील क्लब पोखरा–२८ का संस्थापक अध्यक्ष हुन्।
त्यस्तै, उनी फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका साधारण सदस्य, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका पूर्व सदस्य तथा प्रेस संयोजक र चापापानी सिद्धार्थ सहकारी संस्था पोखरा–१२ का शिक्षा संयोजक तथा सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
पत्रकारितामा समेत सक्रिय पौडेल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य हुन्। व्यवसाय, सामाजिक सेवा र सञ्चार क्षेत्रबाट प्राप्त अनुभवलाई उद्योग वाणिज्य संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको भनाइ छ।
“संघमा प्रतिनिधित्व पदका लागि मात्र होइन, व्यवसायीका समस्या सुन्न, आवाज उठाउन र समाधानका लागि काम गर्न हुनुपर्छ,” भन्ने मान्यता राख्ने पौडेलले सम्पूर्ण उद्योगी–व्यवसायीको साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदका उम्मेदवार पौडेलको क्रम संख्या ९ रहेको छ।