सुचना, समाचार र मनोरन्जन

नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन

नवलपरासी : भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका २१६ शवमध्ये हालसम्म १५९ वटा शवको व्यवस्थापन गरिएको हो । जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसेका शवहरुको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिए । पहिचान नभएका शवहरु कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी व्यवस्थापन गरिएको उनको भनाइ छ ।

जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये महिलाका २९, पुरुषका ४७, बालक र बालिकको सात÷सात वटा तथा ६९ वटा मानव अङ्ग रहेका उनले बताए । जिल्लामा हालसम्म महिलाको ४७, पुरुषको ७३, बालकको ११ तथा बालिकाको १५ वटा शव फेला परेको छ । त्यस्तै खुट्टा, हात, छातीको भाग, शरीरको बायाँ भाग, पेटको भाग, टाउकाको भाग, कम्मरमाथिको भाग गरी ७० वटा मानव अङ्ग फेला परेको सूचना अधिकारी पण्डितले जानकारी दिए ।

जिल्लामा भेटिएकामध्ये १७ वटा शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ । पहिचान भएका शवमध्ये मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखा पालुङटार–५ की ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षीय केदार पण्डित, चितवनको माडी–७ का २८ वर्षीय विमल काफ्ले, अर्घाखाँचीको पाणिनी–७ का ४५ वर्षीय नारायणबहादुर थापा र नवलपरासी (बर्दघाट–सुस्तापश्चित) को सुस्ता–१ का ३७ वर्षीय यादव भण्डारीको पण्डितले बताए ।

त्यस्तै, धादिङ खनियावास–५ का ४२ वर्षीय संजोग घर्तीमगर, नुवाकोटको बिदुर–७ की ५६ वर्षीया शारदा ढकाल, वडा नम्बर ८ का २८ वर्षीय विशाल आलेमगर र वडा नम्बर १० का पाँच वर्षीय बालक प्रतिन्स तामाङ, सप्तरी खड्क–५ का २८ वर्षीय सन्तोष चौधरी, काभे्र पाँचखाल–६ का ४६ वर्षीय डिगबहादुर कायस्थ, काठमाडौँ बौद्धका ३४ वर्षीय राजु सुनार र रसुवाको आमाछोदिङमो–३ की ३४ वर्षीया हीमा लोप्चन र सिन्धुपाल्चोक जुगल–५ का २१ वर्षीय वीरबहादुर श्रेष्ठको पहिचान खुलेको उनले बताए ।

पहिचान खुलेका शवको सबै प्रकृया पूरा गरी परिवारलाई हस्तान्तरण गरिएको उनको भनाइ छ । परिवारको जिम्मा लगाइएका शवमध्ये प्रहरी कार्यालयमा तस्बिर हेरेर, घटनास्थमै आफन्त पुगेर, वेबसाइटमार्फत तस्बिर हेरेर तथा हातको पाखुरामा खोपिएको ट्याटुबाट आफन्तहरुले पहिचान गरेका प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

जिल्लामा भेटिएकामध्ये ४० वटा शवको व्यवस्थापन गर्न बाँकी रहेको पण्डितको भनाइ छ । उहाँकाअनुसार व्यवस्थापन हुन बाँकी रहेका शवमध्ये १४ महिला, १४ पुरुष, तीन बालक, आठ बालिकाको तथा एउटा मानव अङ्ग रहेको छ ।

Leave A Reply

Your email address will not be published.