रसुवा : भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको ६६ वटा शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ। जिल्लाको बेत्रावतीमा दश, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा छ वटा शव फेला परेको जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए।
त्यसमध्ये छ वटा शव पहिचान भएको छ। फेला परेको शवलाई सङ्कलन गरी धुन्चे ल्याउने तयारी गरिरहेको छ। बाढीमा परी बेपत्ता भइरहेका अन्य व्यक्तिको खोजी भइरहेको उनको भनाइ छ।
बाढीबाट प्रभावित ६०० भन्दा बढीको उद्धार गरिएको छ। बेत्रावती कैँदलटारबाट विस्थापित परिवारलाई काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत शान्ति टोलका विभिन्न स्थानमा राखिएको छ।
टिमुरे र स्याफ्रुबेँसीका विस्थापितलाई रानीवनस्थित पहेँलो गुम्बामा राखिएको छ। केही प्रभावितलाई धुन्चेस्थित टुर्कुछिलिङ गुम्बा र अन्यलाई दक्षिणी रसुवाको माझगाउँस्थित भीमसेन र शिवालय प्राविमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
कैँदलटार क्षेत्रबाट विस्थापित भएका नागरिकको बालबालिकालाई पोषणयुक्त खाना र दूध एक गैरसरकारी संस्थाले प्रदान गरेको सहजकर्ता पाशु लामिछानेले जानकारी दिए।
भोटेकोशी बाढीले पुल र सडक बगाउँदा रसुवाको पश्चिम क्षेत्र थोमन, चिलिमे, गोल्जुङ, हाकु, डाँडागाउँ, ठूलोगाउँलगायत बस्तीमा हेलिकप्टरमार्फत राहत सामग्री पु¥याइएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। यस्तै लहरेपौवा, बेत्रावती, पहिराबेँसी, राम्चे, टिमुरेको खैदी, विर्दिङ, शेर्पा गाउँ, खाम्जिङ, स्याफ्रुसमेतका क्षेत्रमा पनि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ।
बाढीसँगै विद्युत् सेवा अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न गाडीमा जेनेरेटर राखी घुम्ती सेवाको माध्यमबाट रसुवा–नुवाकोट पर्यटन समाजले त्यसको व्यवस्था मिलाइएकामा हालसम्म ५०० भन्दा बढी स्थानीयले सेवा लिएको अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए।
जिल्लाका अधिकांश क्षेत्रमा सञ्चार सम्पर्क पुनः सुरु भएको छ। विद्युत् आपूर्ति नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको बालाजुदेखि नुवाकोटको शिवपुरी, चौगडा, नर्जा, सरमथली, कालिकास्थान हुँदै धुन्चेसम्मको लाइन विस्तारको काम अघि बढाइएको छ।