सुचना, समाचार र मनोरन्जन

‘अहिले उत्सव होइन साथ चाहिएको छ’ भन्दै रचना रिमाल फर्किँदै स्वदेश

काठमाडौं :

गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियामा आयोजना गरिएका सबै उत्सव कार्यक्रम रद्द भएको जनाएकी छन्। कार्यक्रम रोकिएपछि आफू स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

रचना भन्छिन्,‘नेपालमा हालै आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित मानवीय संकटप्रति गहिरो दुःख व्यक्त गर्दै,यस कठिन र संवेदनशील समयमा उत्सव मनाउनु उपयुक्त नहुने निष्कर्षसहित म र अस्ट्रेलियाका सम्पूर्ण आयोजकहरूले आपसी समझदारीमा यस वर्षका सम्पूर्ण तीज कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेका छौँ र म यथासिघ्र आफ्नै देश फर्कदैछुँ।’

एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाका त्यहाँका विभिन्न सहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार नेपालमा विनाशकारी बाढी गएको घटना लगत्तै रचनाले कार्यक्रम पोस्टपोन्ड गरिएको बताएकी थिइन् ।

उनले थपिन्,‘यस वर्षको तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरहरूमा करिब १० वटा सांगीतिक कार्यक्रममार्फत यहाँहरूसँग भेट्ने, सँगै गाउने, नाच्ने र खुसी साट्ने ठूलो उत्साहका साथ म एनआरएनए वुमन फोरम नारीकुञ्ज को निमन्त्रणामा अस्ट्रेलिया आइपुगेकी थिएँ। तर, म अस्ट्रेलिया आइपुगेकै दिन नेपालमा आएको विनाशकारी बाढीले हाम्रो देशलाई ठूलो पीडामा पुर्‍यायो। धेरैले आफ्ना आफन्त गुमाउनुभयो, धेरै परिवार विस्थापित हुनुभयो, धेरै मानिसहरू बेपत्ता हुनुहुन्छ। अहिले पनि नेपालमा खोजी, उद्धार र राहतका कामहरू निरन्तर भइरहेका छन्।
नेपालको त्यो अवस्था देखेपछि, राष्ट्रमा शोक परिरहेको समयमा मनले उत्सव मनाउन मानेन। किनकि यो पीडा कुनै एउटा ठाउँको मात्रै होइन। कुनै जिल्लाको मात्रै होइन।यो सिंगो देशको पीडा हो। त्यसैले, धेरै तयारी, मेहनत, समय, लगानी र भावनाहरू जोडिइसकेको भए पनि अहिलेको परिस्थितिमा ठूलो कुरा राष्ट्रको दुःख हो भन्ने महसुस गर्दै यो निर्णय लिएका छौँ।’

तर, आज बुधबार भने रद्द नै गरिएको उनको भनाइ छ। अब आफू स्वदेश फर्किन लागेको उनले जनाएकी छन्। राष्ट्र शोकमा परिरहेको बेला उत्सवमा रमाउन मनले नमानेको उनको भनाइ छ ।

‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो’ उनले भनेकी छन्, ‘फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ। तर अहिले होइन। अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ। त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौँ।’ उनको यो कार्यलाई धेरैले स्वागत योग्य रहेको भन्दै उनलाई धन्यवाद दिइरहेका छन्।

Leave A Reply

Your email address will not be published.