काठमाडौं : नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का पछिल्लो समय क्यामेरा र लाइटको घेरासँगै प्रकृतिको संरक्षणमा सशक्त आवाज उठाइरहेका छन्।
कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सवका ‘जलवायु सद्भावना दूत’का रूपमा उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालका हिमाल, वातावरण र जलवायु न्यायको एजेन्डालाई गम्भीरताका साथ प्रस्तुत गर्दै आएका छन्।
हालै मात्र रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले नेपाल जलवायु परिवर्तनको कति ठूलो जोखिममा छ भन्ने यथार्थलाई पुनः पुष्टि गरेको छ। विगत तीन वर्षदेखि सम्भावित प्राकृतिक विपत्तिको चेतावनी दिँदै आएका अभिनेता खड्का, हिमाल पग्लिएर काला पत्थरमा परिणत हुँदा देशको समग्र पर्यटन र चलचित्र क्षेत्रको ‘खुला स्टुडियो’ नै मासिने चिन्ता व्यक्त गर्छन्। विकसित राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले भोग्नुपरेको यस अकल्पनीय क्षतिको क्षतिपूर्ति स्वरूप ‘लस एन्ड ड्यामेज फन्ड’मा नेपालको सहज पहुँच हुनुपर्ने उनको मुख्य अडान छ।
प्रस्तुत छ, विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, जलवायु न्याय र एक कलाकारको सामाजिक उत्तरदायित्वका विषयमा केन्द्रित रहेर अभिनेता तथा जलवायु अभियन्ता प्रदीप खड्कासँग राससका समाचारदाता जीवन पराजुलीले गरेको कुराकानी :
यहाँ नेपाली चलचित्र क्षेत्रको एउटा स्थापित र व्यस्त अभिनेता हुनुहुन्छ। एकाएक जलवायु परिवर्तनको मुद्दामा केन्द्रित हुनुको पछाडिको कारण के हो ?
म मूलतः एउटा कलाकार हुँ र मेरो कर्मथलो यही देशको प्रकृति हो। नेपाललाई विश्वमा ‘चलचित्र पर्यटन’को एउटा प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने मेरो ठूलो सपना छ। तर, जब मैले हाम्रा सेता हिमालहरू पग्लिएर काला पत्थरमा परिणत हुँदै गएको देखेँ, मलाई धक्का लाग्यो। हिमाल र प्रकृतिको यो अनुपम सौन्दर्य नै नरहे हाम्रो ‘खुल्ला स्टुडियो’को अवधारणा कसरी बाँच्ला ? प्राकृतिक स्टुडियो नै मासियो भने हामीले विश्वलाई के देखाउने ? यही यथार्थले मलाई क्यामेराको लेन्सबाट बाहिर निस्केर प्रकृतिको संरक्षणका लागि बोल्न बाध्य बनायो। यो मेरो पेसागत भविष्य र देशको अस्तित्व दुवैसँग जोडिएको विषय हो।
यहाँले विगत केही वर्षदेखि देश र विदेशमा निरन्तर आवाज उठाइरहनुभएको छ। आम नागरिक र विश्व समुदायले बुझ्ने गरी भनिदिनुस् न, यहाँको मुख्य जलवायु एजेन्डा के हो ?
मेरो मुख्य एजेन्डा ‘संरक्षणकर्तालाई प्रोत्साहन’ हो। अहिले विश्वमा कार्बन व्यापारको अवधारणा छ तर यसको व्यावहारिक पाटोमा ठूलो खाडल छ। यदि जङ्गल मासेर, रूख काटेर मात्र आर्थिक फाइदा हुन्छ भने, रूख रोप्ने र हुर्काउनेहरूका लागि प्रोत्साहन खोइ त ? हामीले अक्सिजन दिएर विश्वलाई बचाइरहेका छौँ। त्यसैले, मेरो अडान स्पष्ट छजसले प्रकृति बचाउँछ, उसले त्यसको उचित मूल्याङ्कन र आर्थिक लाभ पाउनुपर्छ। जलवायु न्याय भनेको यही हो।
विगत तीन वर्षदेखि यहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले भोग्नुपर्ने जलवायु सम्भावित विपत्तिको चेतावनी दिँदै आउनुभएको छ। हालै भोटेकोशी र मेलम्चीमा आएको विनाशकारी बाढीलाई यहाँले कसरी हेर्नुभएको छ ?
यो अत्यन्तै हृदय विदारक छ र यसपछि त संसार थप गम्भीर हुन जरुरी छ। यो समस्या नेपाल र हाम्रा हिमालको मात्र होइन, सम्पूर्ण पृथ्वीवासीको साझा सङ्कट हो। हामीले प्रकृतिको पर्याप्रणाली बिगारेका छौँ। हेर्नुस् त, जुम्लामा बाँदर पुगेर बालीनाली नष्ट गर्न थालेका छन्। आइसल्यान्डजस्तो देश, जहाँ लामखुट्टे हुँदैनथे, त्यहाँ सन् २०२५ तिरबाटै लामखुट्टे भेटिएको छ। तराईमा पाइने गोमन सर्प पहाड उक्लिरहेका छन्। यो सबै ‘ग्लोबल वार्मिङ’को परिणाम भनौँ अथवा उपज हो। हिमालदेखि समुद्रसम्म यसको असर छ। भोटेकोशी त केवल सुरुआती सङ्केत मात्र हो। यसपछि पनि हामीले यस्ता सङ्कटहरु अरु खेप्नुपर्ने अवस्था आउने छ।
सरकारलाई यहाँले ‘जुनसुकै बेला विपत्ति आउन सक्छ, पूर्व तयारीमा रहनू’ भनेर पटकपटक झक्झक्याउनुभयो। तर घटना घटिसकेपछि मात्र ब्युँझिने फितलो पूर्वतयारी र नीतिगत उदासीनतामाथि यहाँको टिप्पणी के छ ?
यो निकै निराशाजनक छ। विपद् व्यवस्थापन भनेको हेलिकोप्टर लगेर चाउचाउ बाँड्नु मात्र होइन। यो त घटना हुनुपूर्वको तयारी हो। हामीसँग पूर्व सूचना प्रणाली अझै प्रभावकारी छैन। पहाडमा डोजर आतङ्क छ, बिना कुनै इन्जिनियरिङ सडक खनिएका छन्। सरकारले विकासको ढाँचालाई नै जलवायु अनुकूल बनाउनुपर्छ। नीति निर्माण तहमा बस्नेहरूले प्रकृतिको सङ्केतलाई बेवास्ता गरिरहने हो भने हामीले भविष्यमा अझै ठूलो मानवीय र आर्थिक क्षति बेहोर्नुपर्ने निश्चित छ।
विश्वका धनी र औद्योगिक राष्ट्रहरूका कारण नेपाल जस्ता कम कार्बन उत्सर्जन गर्ने देशहरूले ठूलो मूल्य चुकाउनुपरेको छ। धनी राष्ट्रहरूबाट जलवायु क्षतिपूर्ति प्राप्त गर्नका लागि अबको अन्तरराष्ट्रिय लबिङ कस्तो हुनुपर्छजस्तो लाग्छ ?
नेपालको कार्बन उत्सर्जन शून्य दशमलव एक प्रतिशतभन्दा पनि कम छ, तर हामी विश्वको चौथो सबैभन्दा जोखिमपूर्ण देशमा पर्छौं। अब हाम्रो अन्तरराष्ट्रिय लबिङ ‘अनुदान वा सहयोग माग्ने’ शैलीमा होइन, ‘हाम्रो अधिकार र क्षतिपूर्ति दाबी गर्ने’ शैलीमा हुनुपर्छ। हामीले हाम्रा हिमाल र जङ्गलमार्फत विश्वलाई अक्सिजन दिएर गुन लगाएका छौँ। ‘लस एन्ड ड्यामेज फन्ड’मा हाम्रो सहज र सिधा पहुँच हुनुपर्छ। यसका लागि सरकार, कूटनीतिक नियोग र अन्तरराष्ट्रिय मञ्चहरूमा हाम्रो सञ्चार संयन्त्र अत्यन्तै आक्रामक र प्रमाणमा आधारित हुनु आवश्यक छ। विदेशीहरू सहानुभूति मात्र दिन्छन्, तर हामीलाई अहिले सहानुभूति होइन, ‘एक्सन’ चाहिएको छ।
धेरैजसो कलाकारहरू सामाजिक वा राजनीतिक मुद्दाहरूमा बोल्न हिचकिचाउँछन्। एउटा ‘ग्लामरस स्टारडम’ र गम्भीर जलवायु अभियन्ताको भूमिकाबीच यहाँले कसरी सन्तुलन मिलाइरहनुभएको छ ?
विभेद गलत हो भनेर विभेद सहनेले जतिसुकै चिच्याए पनि, जबसम्म विभेद गर्ने पक्ष सजग हुँदैन, तबसम्म समाधान निस्किँदैन। जलवायु परिवर्तनको हकमा नेपाल एउटा निर्दोष पीडित हो। चलचित्र र कला यस्तो सशक्त माध्यम हो जसले यो यथार्थलाई भावनात्मक रूपमा पु¥याउन सक्छ। ‘ग्लामरस स्टारडम’ र गम्भीर अभियन्ता हुनु परस्पर विरोधी कुरा होइनन्, बरु एकअर्काका परिपूरक हुन्। स्टारडमले मलाई एउटा ‘माइक्रोफोन’ दिएको छ, र जलवायु सङ्कटले मलाई त्यो माइक्रोफोनमा बोल्ने ‘कन्टेन्ट’। मैले पाइरहेको मिडियाको ध्यान मेरो व्यक्तिगत सम्पत्ति मात्र होइन, यो राष्ट्र हितमा सदुपयोग हुनुपर्छ। यो सन्तुलन मात्र होइन, दायित्वको पूर्ण सदुपयोग हो।
नेपालका हिमशृङ्खलाहरू पग्लने क्रम तीव्र छ, जसले तल्लोतटीय क्षेत्रमा ठूलो जोखिम बढाएको छ। हाम्रा हिमालहरू बचाउन तत्काल चाल्नुपर्ने कदमहरू केके देख्नुहुन्छ ?
सबैभन्दा पहिलो कदम भनेको जोखिममा रहेका हिमतालहरूको म्यापिङ र निरन्तर अनुगमन हो। तल्लोतटीय क्षेत्रका बस्तीहरूमा साइरन जडित पूर्वसूचना प्रणालीलाई चुस्त बनाउनुपर्छ। दीर्घकालीन रूपमा भने हामीले जीवाश्म इन्धनको प्रयोग घटाएर जलविद्युत् र विद्युतीय सवारीको प्रयोग बढाउनै पर्छ। अन्तरराष्ट्रिय मञ्चहरूमा हिमाल पग्लिँदा एसियाका अर्बौं मानिसको पानीको स्रोत सुक्छ भन्ने भाष्यलाई गम्भीरताका साथ स्थापित गर्नुपर्छ।
भविष्यमा आउने सङ्कटको सबैभन्दा ठूलो मार आजको युवापुस्ताले भोग्नुपर्नेछ। युवाहरूलाई सामाजिक सञ्जालमा मात्र सीमित नराखी यस अभियानमा व्यवहारिक रूपमै कसरी जोड्न सकिन्छ ?
युवा पुस्ता निकै सचेत छ। अब संयुक्त राष्ट्रसङ्घको वार्षिक जलवायु परिवर्तन सम्मेलन ‘कोप’ जस्ता अन्तरराष्ट्रिय मञ्चहरूमा नेपालले आफ्ना समस्या र समाधानका विषयमा सशक्त रूपमा बोल्न सक्नुपर्छ र म त्यहाँ सहभागी हुन सधैँ तत्पर छु। सामाजिक सञ्जालमा ‘ट्रेन्ड’ चलाएर मात्र पुग्दैन, आफ्नो दैनिक जीवनशैलीमा वातावरणमैत्री छनोटहरू गर्न युवा पुस्ता अग्रसर हुनै पर्छ। उहाँहरूले व्यक्तिगत रूपमा कार्बन उत्सर्जन नियन्त्रण गर्ने र नेपालको जलविद्युतको अधिकतम् सदुपयोग गर्ने कुरामा ध्यान दिनुपर्छ।
अन्त्यमा, पटकपटकको चेतावनीका बाबजुद सङ्कट झन बढ्दै जाँदा कत्तिको निरासा छाउँछ ? आगामी दिनमा यहाँका योजनाहरू केके छन् ?
निराशा पक्कै हुन्छ, तर हरेस खाने छुट हामीलाई छैन। एक अभिनेताको रूपमा मेरो योजना भनेको चलचित्रको माध्यमबाट जलवायु सङ्कटका कथाहरूलाई विश्व मञ्चमा पु¥याउने हो। सद्भावनादूतको रूपमा म नेपालका सरोकारवाला निकायहरूसँग मिलेर नीतिगत परिवर्तन र युवा परिचालनमा काम गरिरहनेछु। हाम्रो प्रकृति बचाउने लडाइँ लामो छ, तर जब म युवाहरूको ऊर्जा देख्छु, मलाई विश्वास लाग्छ, हामी यो सङ्कटलाई चिरेर एउटा सुरक्षित भविष्य निर्माण गर्न सफल हुनेछौँ।