काठमाडौँ,
गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएको पनि बताएका छन् ।
मन्त्री गुरुङले पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि आफूहरूलाई त्यही पुरानै शैली अपनाउन दबाब दिने गरेको देख्दा आफूलाई अचम्म लागेको टिप्पणी पनि गरेका छन् ।
‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ ९जेनेरेसन ग्याप०,’ मन्त्री गुरुङको भनाइ छ ।
विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै उनले चिन्ता लिन नपर्ने समेत बताएका छन् ।
‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनुपर्दैन । अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ’, मन्त्री गुरुङको भनाइ छ ।
डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको दाबी मन्त्री गुरुङको छ ।
‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु’, आलोचकलाई गुरुङले भनेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ ।’