सुचना, समाचार र मनोरन्जन

संस्थागत अनुभवसहित कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ, भन्छन्– ‘आर्थिक पारदर्शिता र उत्तरदायित्व पहिलो प्राथमिकता’

पोखरा :

लामो समयदेखि व्यवसायसँगै विभिन्न व्यावसायिक संघ–संस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएका जीवनप्रकाश श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदका उम्मेदवार बनेका छन्। भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा उनले अनुभव, इमानदारी, पारदर्शिता र उत्तरदायित्वलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

फर्निसिङ व्यवसायमा सक्रिय श्रेष्ठको व्यावसायिक संस्थामा आबद्धताको यात्रा लामो छ। कपडा व्यवसायी एसोसिएसन पोखरा, कास्कीमा कार्यसमिति सदस्य हुँदै कोषाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले त्यसपछि फ्लोरिङ फर्निसिङ व्यवसायी संघ, कास्कीमा सहसचिव, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्मको नेतृत्व गरेका छन्।

विभिन्न तहमा बसेर संस्थाको आर्थिक तथा प्रशासनिक काम नजिकबाट हेरेको अनुभवलाई पोखरा उद्योग वाणिज्य संघको वित्तीय व्यवस्थापनमा उपयोग गर्ने उद्देश्यसहित कोषाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन्। पोखरा उद्योग वाणिज्य संघमा समेत उनले कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। संघको ३४औँ महाधिवेशनबाट वस्तुगत संघतर्फ निर्वाचित हुँदै वस्तुगत संयोजकको भूमिका निर्वाह गरेको अनुभव उनीसँग छ। संघभित्र रहेर काम गर्दा संस्थाको कार्यप्रणाली, आर्थिक व्यवस्थापन, सदस्य व्यवसायीका अपेक्षा र सुधार आवश्यक क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ।

श्रेष्ठले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको विषयभन्दा संस्थाको आर्थिक प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने जिम्मेवारीका रूपमा प्रस्तुत गरेका छन्। ‘संघमा आउने प्रत्येक रुपैयाँ र हुने प्रत्येक खर्चप्रति सदस्य व्यवसायीले स्पष्ट जानकारी पाउने वातावरण हुनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्दै सदस्यले विश्वास गर्न सक्ने वित्तीय प्रणाली निर्माण गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ।’

उनका अनुसार कोषाध्यक्षको भूमिका आय–व्ययको हिसाब राख्ने काममा मात्र सीमित हुनु हुँदैन। संघको दीर्घकालीन आर्थिक योजना, स्रोतको प्रभावकारी परिचालन, खर्चको प्राथमिकता निर्धारण, व्यवस्थित अभिलेखीकरण र सदस्यप्रति वित्तीय जवाफदेहिता कायम गर्ने विषय पनि उत्तिकै महत्वपूर्ण छन्। यसका लागि संघको आर्थिक अभिलेखलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने, बजेट तथा खर्च प्रणालीमा स्पष्टता ल्याउने र संस्थाको स्रोतलाई सदस्य व्यवसायीको हित तथा संस्थागत सुदृढीकरणसँग जोड्ने विषयमा काम गर्ने उनको योजना छ।

व्यवसायी संस्थामा नेतृत्वको लामो अनुभव श्रेष्ठको उम्मेदवारीको प्रमुख आधारमध्ये एउटा विभिन्न व्यावसायिक संस्थामा हासिल गरेको अनुभव हो। कपडा व्यवसायी एसोसिएसनबाट सुरु भएको उनको संस्थागत यात्राले फ्लोरिङ फर्निसिङ व्यवसायी संघमा नेतृत्वको तहसम्म निरन्तरता पायो। कार्यसमिति सदस्यदेखि कोषाध्यक्ष, सहसचिव, महासचिव, वरिष्ठ उपाध्यक्ष र अध्यक्षसम्म फरक–फरक भूमिकामा काम गरेकाले संस्थाको आर्थिक पक्षसँगै सदस्य व्यवस्थापन, नेतृत्व, निर्णय प्रक्रिया र संस्थागत उत्तरदायित्वबारे व्यावहारिक अनुभव हासिल गरेको उनी बताउँछन्। यही अनुभवलाई पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षको जिम्मेवारीमा उपयोग गर्ने उनको लक्ष्य छ।

‘सदस्यको हित सर्वोपरि’ श्रेष्ठले ‘सशक्त नेतृत्व, सबल संस्था र समृद्ध भविष्य’ को अवधारणासहित आफ्नो उम्मेदवारी अघि बढाएका छन्। स्पष्ट नीति, आर्थिक अनुशासन, पारदर्शी कार्यप्रणाली र सदस्यको हितलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन्। संघलाई बलियो बनाउन आर्थिक रूपमा पनि संस्था सबल र व्यवस्थित हुनुपर्ने उनको धारणा छ। व्यवसायीबाट प्राप्त सदस्यता शुल्क तथा संघका अन्य आम्दानीका स्रोतको प्रभावकारी परिचालनसँगै अनावश्यक खर्च नियन्त्रण र प्राथमिकताका क्षेत्रमा स्रोत परिचालन आवश्यक रहेको उनी बताउँछन्।व्यवसायीका समस्या र आवश्यकतालाई बुझ्ने संस्था निर्माण गर्न नेतृत्व र सदस्यबीच नियमित संवाद पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

‘मेरो प्रतिबद्धता अनुभव, इमानदारी, पारदर्शिता र उत्तरदायित्वसहित संस्थाको समुन्नतिका लागि काम गर्नु हो,’ श्रेष्ठ भन्छन्, ‘मेरो पक्षमा आउने मतलाई म व्यक्तिप्रतिको समर्थनभन्दा पनि पारदर्शी, जिम्मेवार र सदस्यकेन्द्रित संस्थाको अपेक्षाका रूपमा लिनेछु।’

व्यावसायिक संघ–संस्थामा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव र पोखरा उद्योग वाणिज्य संघभित्रको संस्थागत अभ्याससहित श्रेष्ठ यसपटक कोषाध्यक्षको जिम्मेवारीमा पुग्ने प्रयासमा छन्।उनले मतदातासमक्ष पनि यही सन्देश राखेका छन्—‘तपाईंको अमूल्य मत मेरो लागि मात्र होइन, संस्थाको उज्ज्वल भविष्यका लागि हो।’

अब भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनमा श्रेष्ठले अघि सारेको आर्थिक सुशासन, पारदर्शिता, उत्तरदायित्व र सदस्यको हितको एजेन्डालाई संघका उद्योगी–व्यवसायीले कति समर्थन गर्छन् भन्ने निर्णय मतदानबाट हुनेछ

Leave A Reply

Your email address will not be published.