पोखरा :
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दिवंगत व्यक्तिप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने क्रममा बढ्दै गएको फ्रेम र फ्लेक्सको प्रयोगलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।
पछिल्ला केही वर्षयता विभिन्न संघसंस्था तथा शुभेच्छुकले समवेदना सन्देश लेखिएका सिसाका फ्रेम लिएर काजकिरिया स्थलमा पुग्ने प्रचलन बढेको उल्लेख गर्दै आचार्यले श्रद्धा व्यक्त गर्ने यस्तो अभ्यासले पछि शोकसन्तप्त परिवारलाई ती सामग्री व्यवस्थापन गर्न कठिनाइ हुने बताएका छन्।
आचार्यले आफ्नै अनुभवसमेत स्मरण गर्दै परिवारमा मातृवियोग हुँदा ठूलो संख्यामा प्राप्त भएका श्रद्धाञ्जली फ्रेमलाई सम्मानपूर्वक सुरक्षित राख्न वा व्यवस्थापन गर्न कठिन भएको बताएका छन्। उनले यसको विकल्पमा समवेदना सन्देश कागजमा लेखेर दिने वा काजकिरिया स्थलमा राखिएको श्रद्धाञ्जली पुस्तिकामा आफ्ना भावना लेख्ने संस्कार सुरु गर्न प्रस्ताव गरेका छन्। लिखित सन्देशलाई फाइलिङ गरेर तथा श्रद्धाञ्जली पुस्तिकालाई सुरक्षित राखेर परिवारले जीवनभर स्मृतिका रूपमा जोगाउन सक्ने उनको धारणा छ।
त्यसैगरी, महँगा फ्रेम वा अन्य सामग्रीको सट्टा आफ्नै घरको बगैँचा वा गमलाबाट एउटा फूलको थुँगा ल्याएर दिवंगत व्यक्तिको तस्वीरमा अर्पण गर्न सकिने उनले बताएका छन्।
‘श्रद्धाको मूल्य सामग्रीको आकार वा मूल्यले निर्धारण गर्दैन। एउटा सानो फूल र केही आत्मीय शब्दमा पनि उत्तिकै गहिरो माया, सम्मान र समवेदना हुन्छ,’ भन्ने भावसहित आचार्यले शोक संस्कारलाई सरल, आत्मीय र व्यवस्थापनयोग्य बनाउनेतर्फ समाजले सोच्नुपर्ने सन्देश दिएका छन्।
उनले यो संस्कारको सुरुवात हालै दिवंगत भएकी आफ्नी दिदी तथा भागवत भाष्कर पण्डित कमलनयन गौतम, गोविन्द गौतम, शिव गौतम र लक्ष्मी गौतमकी ममतामयी माता भगवती गौतमको श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्ने क्रमबाटै गरौँ भन्ने आग्रह गरेका छन्।
आचार्यको प्रस्तावले श्रद्धाञ्जलीको भावनालाई कमजोर बनाउने नभई त्यसलाई देखावटी सामग्रीभन्दा आत्मीयता, स्मृति र संवेदनासँग जोड्ने उद्देश्य राखेको देखिन्छ। यसले अनावश्यक खर्च र सामग्रीको व्यवस्थापन घटाउनुका साथै शोकमा रहेका परिवारलाई थप सहज बनाउन सक्ने उनको विश्वास छ।
उनले भने यो आग्रह पोखरा महानगरपालिकाको संस्थागत निर्णय वा निर्देशन नभएको स्पष्ट पारेका छन्। ‘यो पूर्णतः मेरो व्यक्तिगत आग्रह हो, पोखरा महानगरपालिकाको तर्फबाट गरिएको आग्रह होइन,’ आचार्यले स्पष्ट पारेका छन्।