पोखरा,
करिब २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालयअगाडि सानो चिया पसलबाट व्यवसायिक यात्रा सुरु गरेकी शोभा गौतम अहिले सोही संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा छिन्।
सानो व्यवसायबाट सुरु भएको उनको यात्रा महेन्द्रपुलको पुष्पाञ्जली ब्युटी पार्लर हुँदै लुब्रिकेन्ट, फेसन तथा इभेन्ट, मार्केटिङ, रेस्टुरेन्ट, कृषि र ग्रोसरीलगायत विभिन्न व्यवसायमा विस्तार भएको छ।
विसं २०७३ मा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रूपमा प्रवेश गरेकी गौतम सदस्य, उपमहासचिव हुँदै महासचिवसम्म पुगेकी हुन्। कार्यसमिति सदस्यमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएकी उनी हाल महासचिवका रूपमा कार्यरत छिन्।
‘सुदृढ संघ, सक्षम नेतृत्व’ नारासहित अध्यक्ष पदमा उम्मेदवारी दिएकी गौतमले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्। संघलाई सबै उद्योगी–व्यवसायीको साझा घर बनाउनेसँगै कृषि तथा पर्यटन प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, वित्तीय साक्षरता, सीप विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र ‘मेड इन पोखरा’ अभियानलाई प्राथमिकतामा राखेकी छन्।
चिया पसलबाट सुरु भएको संघर्षपूर्ण यात्रालाई आफ्नो नेतृत्वको आधार बनाउँदै गौतमले आफूलाई भाषणभन्दा काम र परिणामबाट मूल्यांकन गर्न आग्रह गरेकी छन्। अब उनको २६ वर्षे व्यवसायिक तथा संस्थागत यात्रालाई पोखराका उद्योगी–व्यवसायीले मतमार्फत मूल्यांकन गर्नेछन्।