सुचना, समाचार र मनोरन्जन

पोखरा वल्र्ड स्कुलद्वारा भोटेकोशी बाढीपहिरो पीडितलाई सहयोग

पोखरा,

पोखरा वल्र्ड स्कुलले भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको छ।

विद्यालयका शिक्षक तथा विद्यार्थीबाट संकलित रकममध्ये १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालय सञ्चालक मोनिका थापाले जानकारी दिइन्।

उनका अनुसार उक्त रकम शिक्षक र विद्यार्थीको सहयोगबाट संकलन गरिएको हो भने आवश्यक बाँकी रकम विद्यालयले थप गरेको हो। विद्यालयका साना बालबालिकाले मात्रै आफ्नोतर्फबाट करिब ४० हजार रुपैयाँ स्वेच्छिक रूपमा संकलन गरेका थिए।

‘नगद राहत कोषमा जम्मा गरेर त्यसको विवरण जिल्ला प्रशासनमा बुझाएका छौं,’ थापाले भनिन्, ‘यसमा विद्यार्थी र शिक्षकहरूको सहयोग छ भने बाँकी रकम विद्यालयले थपेको हो।’

Chaka Panja

नगद सहयोगसँगै विद्यार्थीहरूले खाद्यान्न, ओढ्ने–ओछ्याउने सामग्री, कपडा, कापी, कलमलगायतका जिन्सी सामग्रीसमेत संकलन गरेका छन्। प्रयोग नभएका तथा घरमा उपलब्ध सामग्री संकलन गरी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको विद्यालयले जनाएको छ।

संकलित जिन्सी सामग्रीलाई व्यवस्थित रूपमा प्रभावित क्षेत्रमा पुर्‍याउन कास्की–२ का प्रतिनिधिसभा सदस्य उत्तम पौडेलमार्फत हस्तान्तरण गर्ने तयारी गरिएको थापाले बताइन्।

विद्यालयले बालबालिकामा सानै उमेरदेखि परोपकार, मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले सहयोग अभियान सञ्चालन गरेको जनाएको छ। विपत्तिमा परेका व्यक्तिलाई आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान विद्यार्थीलाई प्रदान गर्न अभियान प्रभावकारी बनेको विद्यालयको भनाइ छ।

‘हाम्रा विद्यार्थी नियमित पठनपाठनमा सहभागी हुन्छन् र किताबी ज्ञान पनि हासिल गरिरहेका छन्। तर उनीहरूमा दया, करुणा र सामाजिक उत्तरदायित्वको अभ्यास पनि सँगसँगै विकास गराउन आवश्यक छ,’ थापाले भनिन्, ‘बालबालिकामा सहयोगी भावना र अरूलाई सहयोग गरेर खुसी प्राप्त गर्ने संस्कृतिको विकास गराउने हाम्रो प्रयास हो।’

सहयोग अभियानमा सहभागी हुन पाउँदा विद्यार्थीहरू पनि उत्साहित र खुसी भएको विद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.