पोखरा :
रोजगारी खोज्ने युवाको संख्या बढिरहेको अवस्थामा युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने वातावरण निर्माण गर्नुपर्ने व्यवसायी राम कँडेलले बताएका छन्। युवामा रहेको क्षमता, सीप र नयाँ सोचलाई व्यवसायसँग जोड्न सके पोखराको आर्थिक विकासमा थप गति दिन सकिने उनको धारणा छ।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार रहेका कँडेलले युवा उद्यमशीलतालाई निजी क्षेत्रको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि सारेका छन्।
उनका अनुसार युवामा व्यवसाय गर्ने इच्छा र नयाँ सोच भए पनि पूँजी, व्यवसायिक ज्ञान, बजार, प्रविधि, परामर्श र नेटवर्किङको अभावका कारण धेरै सम्भावना व्यवहारमा आउन सकेका छैनन्। त्यसैले नयाँ व्यवसाय सुरु गर्न चाहने युवालाई सुरुवातदेखि नै आवश्यक सहयोग र मार्गदर्शन उपलब्ध गराउने वातावरण आवश्यक छ।
‘युवालाई व्यवसायमा प्रवेश गर्न सहज बनाउनुपर्छ’
कँडेलले उद्योग वाणिज्य संघले युवा पुस्तालाई व्यवसायसँग जोड्न उद्यमशीलता तालिम, व्यवसायिक परामर्श, बजारसँग जोड्ने कार्यक्रम र सफल उद्यमीसँग अनुभव आदानप्रदानका अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।
“युवालाई जागिर खोज्ने मात्रै होइन, आफैं व्यवसाय सुरु गरेर अरूलाई पनि रोजगारी दिने उद्यमी बनाउने वातावरण आवश्यक छ,” कँडेल भन्छन्, “यसका लागि निजी क्षेत्रका संस्थाले युवासँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्नुपर्छ।”
उनका अनुसार व्यवसाय सुरु गर्नु पहिलो चुनौती भए पनि त्यसलाई टिकाउनु र विस्तार गर्नु अर्को ठूलो चुनौती हो। त्यसैले नयाँ उद्यमीलाई व्यवसाय योजना, वित्तीय व्यवस्थापन, डिजिटल मार्केटिङ, ग्राहक व्यवस्थापन र बजार विस्तारजस्ता विषयमा व्यावहारिक ज्ञान उपलब्ध गराउनुपर्ने आवश्यकता छ।
आफ्नै व्यवसायिक यात्राबाट सिकाइ
कँडेलको युवा उद्यमशीलतासम्बन्धी दृष्टिकोण उनको आफ्नै व्यवसायिक यात्रासँग पनि जोडिएको छ। करिब १२ वर्षअघि व्यवसायिक यात्रा सुरु गरेका कँडेलले क्रमशः विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गर्दै आएका छन्।
उनको Easy Groups अन्तर्गत हस्पिटालिटी, होटल तथा पर्यटन, मानव संसाधन, सुविधा व्यवस्थापन, ट्रेडिङ तथा सुरक्षा सेवासहित विभिन्न व्यवसाय सञ्चालनमा छन्। Chautari Boutique Hotel, Easy Facilities, Easy Trading, Easy Hospitality तथा Gorkhaland Security Group लगायतका व्यवसायमार्फत उनले फरक–फरक क्षेत्रको व्यावहारिक अनुभव हासिल गरेका छन्।
त्यसैगरी राष्ट्रिय पोशाक घरमार्फत नेपाली मौलिक पोशाक तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास गर्दै आएका छन्। स्थानीय उत्पादन, सीप र उद्यमशीलतालाई व्यवसायिक अवसरमा रूपान्तरण गर्न सकिने उनको विश्वास छ।
शिक्षा र अनुभवको संयोजन
व्यवसायिक अनुभवसँगै कँडेलले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा MBA पूरा गरेका छन्। व्यवस्थापन शिक्षा र व्यवसाय सञ्चालनबाट प्राप्त व्यावहारिक अनुभवलाई नयाँ उद्यमीका लागि उपयोगी बनाउन सकिने उनको धारणा छ।
उनका अनुसार आजको उद्यमशीलता परम्परागत व्यवसायमा मात्र सीमित छैन। डिजिटल प्रविधि, ई–कमर्स, सामाजिक सञ्जाल, पर्यटन, स्थानीय उत्पादन र सेवा क्षेत्रमा युवाका लागि नयाँ सम्भावना सिर्जना भइरहेका छन्।
युवालाई यस्ता सम्भावनासँग जोड्न सके पोखराबाटै नयाँ व्यवसाय र रोजगारीका अवसर सिर्जना गर्न सकिने उनी बताउँछन्।
पोउवा संघमा युवा एजेन्डा
पोखरा उद्योग वाणिज्य संघमा २०७५–७९ र २०७९–८३ गरी दुई कार्यकाल कार्यसमिति सदस्यका रूपमा काम गरिसकेका कँडेलले आगामी कार्यसमितिमा युवा उद्यमशीलताको विषयलाई अझ प्रभावकारी रूपमा उठाउने बताएका छन्।
उनका अनुसार उद्योग वाणिज्य संघ व्यवसायीको समस्या समाधान गर्ने संस्थासँगै नयाँ व्यवसायी जन्माउने र निजी क्षेत्रको भविष्य तयार गर्ने संस्था पनि बन्नुपर्छ। “आज व्यवसायमा प्रवेश गर्ने युवालाई अवसर र सही मार्गदर्शन दिन सकियो भने भोलि उनीहरू नै पोखराको अर्थतन्त्र चलाउने उद्यमी बन्न सक्छन्,” कँडेलको भनाइ छ।
युवा उद्यमशीलता, डिजिटल व्यवसाय, स्थानीय उत्पादनको बजार विस्तार, पर्यटन तथा हस्पिटालिटी र व्यवसायमैत्री वातावरणलाई प्राथमिकतामा राख्दै कँडेलले आफ्नो उम्मेदवारी अघि सारेका छन्। उनको मूल सन्देश स्पष्ट छ—युवालाई विदेश वा जागिरको खोजीमा मात्र सीमित नराखी आफ्नै ठाउँमा व्यवसाय सुरु गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिको नेतृत्व गर्ने अवसर दिनुपर्छ।