सुचना, समाचार र मनोरन्जन

बाढीपहिरो पीडितका लागि बैदाम तामाङ सेवा समाजको दुई लाख १८ हजार सहयोग

पोखरा,

रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि बैदाम तामाङ सेवा समाजले प्रधानमन्त्री राहत कोषमा रु. २ लाख १८ हजार ४ सय १६ सहयोग गरेको छ।

विपद्को कठिन समयमा प्रभावित परिवारको साथमा उभिने उद्देश्यले समाजले उक्त रकम राहत कोषमा सहयोग गरेको हो। समाजले यो सहयोगलाई पीडित परिवारप्रतिको माया, साथ र मानवीय संवेदनाको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ।

समाजका अध्यक्ष ज्याक तामाङका अनुसार भदौ २३ गते बिहान ६ बजे पोखराको सेदी डाँडामा विशेष पूजा तथा प्रार्थना कार्यक्रम आयोजना गरिनेछ। भोटेकोशीमा आएको बाढी तथा फेवा तालमा भएको दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माको चिरशान्तिको कामना, हराइरहेका नागरिकहरूको सकुशल उद्धार तथा पीडित परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित पूजा तथा प्रार्थना गरिने भएको हो।

समाजले उक्त कार्यक्रममा सम्पूर्ण शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरेको छ। विपद्को समयमा एकजुट भई पीडित परिवारको साथमा उभिन र मानवीय भावनालाई थप बलियो बनाउन कार्यक्रम आयोजना गरिएको समाजको भनाइ छ।

आर्थिक सहयोग र विशेष पूजामार्फत समाजले ‘विपद्मा एक बनौँ, मानवता बचाऔँ’ भन्ने सन्देशसमेत दिनेछ।

विशेष पूजामा ‘ॐ मणि पद्मे हूँ’ मन्त्रसहित दिवंगत आत्माको चिरशान्ति, बेपत्ता नागरिकको सकुशल उद्धार तथा पीडित परिवारको सुख, शान्ति र धैर्यका लागि प्रार्थना गरिनेछ।

Leave A Reply

Your email address will not be published.