सुचना, समाचार र मनोरन्जन

विश्व फिजियोथेरापी दिवसमा मेट्रोसिटी अस्पतालको सन्देश : ‘औषधि मात्र होइन, सक्रिय जीवन पनि उपचार हो’

पोखरा :

“शरीर चलिरहे जीवन चलिरहन्छ” भन्ने सन्देशसहित पोखरा–८, सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालको फिजियोथेरापी विभागले विश्व फिजियोथेरापी दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यस दिवसका अवसरमा हृदयसम्बन्धी रोग तथा स्ट्रोकको रोकथाम, व्यवस्थापन र पुनर्स्थापनामा फिजियोथेरापी, नियमित व्यायाम र शारीरिक सक्रियताको महत्त्वबारे सचेतना प्रवाह गरिएको थियो।

कार्यक्रममा रोग लागेपछि उपचार गर्नु मात्र पर्याप्त नभई समयमै अपनाइने सक्रिय जीवनशैलीले विभिन्न स्वास्थ्य जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने सन्देश दिइयो। स्ट्रोक वा अन्य स्वास्थ्य समस्यापछि गुमेको शारीरिक क्षमता र आत्मविश्वास फर्काउनसमेत फिजियोथेरापी प्रभावकारी माध्यम बन्न सक्नेमा जोड दिइएको थियो।

मेट्रोसिटी अस्पतालको फिजियोथेरापी विभाग वरिष्ठ फिजियोथेरापिस्ट प्रबिन त्रिपाठीको नेतृत्वमा विगत १७ वर्षदेखि सञ्चालन हुँदै आएको छ। मस्कुलोस्केलेटल समस्या, न्युरोलोजिकल अवस्था, स्पोर्ट्स इन्जुरीदेखि विभिन्न पुनर्स्थापना सेवासम्म विभागले निरन्तर विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।

विभागले विश्व फिजियोथेरापी दिवसलाई केवल एउटा दिवसका रूपमा नभई मानिसलाई फेरि उठ्न, हिँड्न, चल्न र आत्मनिर्भर जीवनतर्फ फर्कन प्रेरित गर्ने अभियानका रूपमा लिनुपर्ने जनाएको छ। “उपचारले रोग निको पार्न सक्छ, तर सही पुनर्स्थापनाले जीवन फेरि चलायमान बनाउँछ।” विश्व फिजियोथेरापी दिवसको अवसरमा मेट्रोसिटी अस्पतालले सबैलाई नियमित शारीरिक गतिविधिलाई दैनिक जीवनको हिस्सा बनाउन आग्रह गर्दै “Move Better, Live Better” — स्वस्थ शरीर, सक्रिय जीवन र आत्मनिर्भर भविष्यको सन्देश दिएको छ।

Leave A Reply

Your email address will not be published.