काठमाडौँ :
डेढ दशकपछि ठूलो पर्दामा पुनरागमन गर्दै गरेका हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) सहितका फिल्म ‘चमेलीको पोइ’को दोस्रो गीत ‘माया मान्छौ र’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत डिजिटलमार्फत उक्त गीतको भिडियो रिलिज भएको हो। भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेत्री सुरक्षा पन्त र अभिनेता मुकुन भुसालको अभिनय देख्न सकिन्छ।
एकनारायण भण्डारीको शब्द र आशिष अविरलको सङ्गीत रहेको युगल गीतमा अविरल र गायिका मेलिना राईको स्वर छ। कविराज गहतराजको कोरियोग्राफीमा मुस्ताङका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस गीतमा मुख्य कलाकार पन्त र भुसालको जोडीलाई फिचर गरिएको छ। यसअघि सार्वजनिक भएको शीर्षक गीत ‘ओइ ओइ चमेली’ ले श्रोता तथा दर्शकको राम्रो साथ पाएपछि निर्माण पक्षले दोस्रो साङ्गीतिक सामग्री सार्वजनिक गरेको हो।
लामो समयको अन्तरालपछि नारायण त्रिपाठीको पुनरागमनले समेत विशेष चर्चा पाएको यस फिल्ममा शीर्ष कलाकारहरूसँगै विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मीना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायण लगायतको बृहत् टोलीले अभिनय गरेको छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी असोज १६ गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउने तयारीमा छ। एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्मको केही समयअघि अमेरिकामा आयोजित विशेष प्रदर्शनीमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो। पारिवारिक मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेटिएको दाबी गरिएको यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ।