सुचना, समाचार र मनोरन्जन

डेढ सय बढि शोसहित ‘पेन्सन पट्टा’हलमा लाग्यो,बिहानैबाट हलमा दर्शकको घुइँचो

काठमाडौं :

माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘पेन्सन पट्टा’ आजबाट प्रदर्शनमा आएको छ। भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो।

शुरुवाती चरणमा अन्यसँगै प्रदर्शन हुने फिल्मलाई भन्दा केही शोहरु पेन्सन पट्टालाई दिइएको छ। लाहुरे परिवारको जीवन, पारिवारिक सम्बन्ध, पुस्तान्तरण र विगतमा लुकेका रहस्यको कथा प्रस्तुत गर्ने फिल्मको ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ यसको चर्चा बढिरहेको छ। ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुने खोजी र त्यससँग जोडिँदै जाने पारिवारिक रहस्यलाई प्रस्तुत गरिएको छ ।

फिल्म प्रदर्शनसँगै दर्शकले अब देशभरका विभिन्न हलमा अग्रिम टिकट बुकिङ गरेर पनि आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्। विशेषगरी प्रदर्शनको सुरुवाती दिनमा दर्शकको चाप बढेको देखिन्छ।

‘पेन्सन पट्टा’ले लाहुरे जीवनको बाहिरी चमकभन्दा पर रहेको पारिवारिक सम्बन्ध, भावनात्मक द्वन्द्व र सामाजिक यथार्थलाई पर्दामा प्रस्तुत गरेको छ । दुई पुस्ताको कथा समेटिएको फिल्ममा प्रेम, विवाह, सम्बन्ध, जिम्मेवारी र बदलिँदो सामाजिक मनोविज्ञानलाई समेत कथाको हिस्सा बनाइएको छ ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय रहेको छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन्। सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन्।

फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन्। निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्। सुरज तामु र केर डी. कोइन्च लिनुच सह–लेखक रहेको फिल्ममा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन्। ‘पेन्सन पट्टा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.