काठमाडौँ :
विराटनगरका प्रतिष्ठित व्यवसायी भीमप्रसाद घिमिरे ‘इन्ड्रस्ट्रियल एन्ड बिजनेश लिडरसिप एक्सीलेन्स अवार्ड’बाट सम्मानित भएका छन्। उद्योग तथा व्यापारको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप उनलाई सो सम्मान प्रदान गरिएको हो।
सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा काठमाडौँस्थित होटेल हिमालयमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले घिमिरेलाई अवार्ड र ट्रफी प्रदान गरे।
कोशी प्रदेशमा रहेर उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान दिइएको आयोजकले जनाएको छ।
सम्मानपत्रमा सामान्य पारिवारिक परिवेशबाट जीवनयात्रा सुरु गरेका घिमिरेले दृढ सङ्कल्प, अथक परिश्रम, इमानदारी र दूरदृष्टिका माध्यमबाट व्यावसायिक सफलता हासिल गरेको उल्लेख छ। व्यवसायलाई नाफा आर्जन गर्ने माध्यमका रूपमा मात्र नभई समाज र राष्ट्र निर्माणको आधारका रूपमा अघि बढाएको भन्दै उनको प्रशंसा गरिएको छ।
सिजन मिडिया नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार नेपाल र विभिन्न एसियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। सो अवसरमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटासहित अन्य विशिष्ट व्यक्तित्वहरू पनि सम्मानित भएका छन्।
सम्मान ग्रहणपछि घिमिरेले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। आगामी दिनमा पनि उद्योग–व्यवसायको विकाससँगै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै युवा पुस्ताका लागि स्वदेशमै अवसर सिर्जना गर्न सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।
को हुन् भीमप्रसाद घिमिरे?
घिमिरे नेपाल उद्योग परिसङ्घ (CNI) कोशी प्रदेशका संस्थापक अध्यक्ष तथा हालका केन्द्रीय उपाध्यक्ष हुन्। उनी उद्योग सङ्गठन मोरङ र टङ्किसिनुवारी जेसीजका पूर्वअध्यक्ष हुनुका साथै ‘लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट A1’ का पूर्वगभर्नर पनि हुन्।
सन् २००४ मा अमेरिकाको डाइभर्सिटी भिसा (DV) मार्फत परिवारसहित ग्रिनकार्ड प्राप्त गरेका घिमिरेले विदेशको स्थायी बसोबास त्यागेर स्वदेशमै उद्यम गर्ने निर्णय लिएका थिए। घिमिरेले श्रीमती अजिता, छोराहरू अभिज्ञ र अन्वित तथा बुहारीहरूलाई समेत उद्यमशीलतामा जोड्दै सिङ्गो परिवारलाई नै व्यवसायमा सक्रिय बनाएका छन्। उनी विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा उद्यमशीलता र स्वदेशमै अवसर सिर्जना गर्ने विषयमा ‘की-नोट स्पिकर’ र प्रशिक्षकका रूपमा समेत सक्रिय छन्।
वि.सं. २०६४ मा पेट्रोलियम पदार्थमा हुने मिसावट र कालोबजारीविरुद्ध जनचेतना फैलाउन उनले Petrol Pump सञ्चालनमा ल्याएका थिए। उनले पत्रकार सम्मेलनमार्फत नै मिसावटको प्रक्रिया सार्वजनिक गरेपछि संसदीय समिति गठन भई सरकार मट्टितेल र पेट्रोलको मूल्य बराबर बनाउन बाध्य भएको थियो।
त्यसैगरी, कोभिड–१९ महामारीका बेला पवन शारडाको नेतृत्वमा गठित ‘नागरिक केयर सेन्टर’ को उपाध्यक्षका रूपमा घिमिरेले ३९ दिनभित्रै २०० शय्याको अस्पताल निर्माण गरी आईसीयू र अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उक्त अस्पताल पछि कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो।