सुचना, समाचार र मनोरन्जन

बिपना थापा र वर्षा राउतसँगै फिल्म ‘बाकस’मा देखिने भए महेश त्रिपाठी

काठमाडौँ :

नयाँ नेपाली फिल्म ‘बाकस’का लागि मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुबन्धित भएका छन्। निर्माण टिमले आइतबार उनलाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो।

नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा महेशको प्रवेशसँगै मुख्य कलाकारहरूको टोली झनै बलियो बनेको छ। यसअघि फिल्ममा अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्।

सुजिता चौलागाईंको निर्माण रहने यस फिल्मको सहनिर्मातामा छत्र बहादुर खड्का र कार्यकारी निर्माताका रूपमा धर्मेन्द्र पन्त रहेका छन्। फिल्मका संगीत पक्षमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्दैछन् भने गीतका शब्दहरू दीपक शर्मा र निर्देशक नवीन पन्त स्वयंले तयार पारेका छन्।

अहिले अन्य बाँकी कलाकार तथा प्राविधिक टोलीको टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। निर्देशक पन्तले भने,‘अहिले कलाकार तथा प्राविधिकहरुसँग कुराकानी भइरहेको छ। करिब करिब कुराकानी मिलिसकेको छ। टुङ्गो लाग्न मात्र बाँकी छ।’

पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा पेश गर्ने निर्माण पक्षको भनाई छ। अहिले फिल्मको पूर्वतयारी तीव्र रूपमा अघि बढिरहेको र आउँदो दशैँ लगत्तै छायांकन (फ्लोर) सुरु गरिने योजना निर्माण पक्षको छ।

Leave A Reply

Your email address will not be published.