पोखरा,
पोखरामा आयोजना हुने देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता ‘पाँचौं राइट टु प्रोटिन रन-२०२६’ को तयारी पूरा तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। नेपालसँगै भारत, चीन, संयुक्त राज्य अमेरिका, डेनमार्क, केन्या, फ्रान्स, दक्षिण कोरिया, जर्मनी र इङ्ल्याण्डलगायत देशबाट गरी ४ हजार १ सयभन्दा बढीको सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ।
नेपाल दाना उद्योग संघको आयोजनामा आगामी असोज ३ गते अर्थात् सेप्टेम्बर १९ मा हुने प्रतियोगिताबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। प्रतियोगिताका लागि हालसम्म ४ हजार १ सय ६ जनाले नाम दर्ता गराएका छन्।
प्रतियोगिता बिहान ६ बजेदेखि सुरु हुनेछ। लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु हुने दौड लौरुक हुँदै पुनः बसुन्धरा पार्कमै आएर टुंगिनेछ।
प्रतियोगितामा पुरुष र महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, पुरुषतर्फ १० किलोमिटर खुला दौड, महिलातर्फ ५ किलोमिटर खुला दौड समावेश गरिएको छ। त्यस्तै, कक्षा १२ सम्मका विद्यार्थीका लागि पुरुषतर्फ ५ किलोमिटर र महिलातर्फ ३ किलोमिटर तथा ह्विलचेयरतर्फ पुरुष र महिलाका लागि ३-३ किलोमिटर दौड आयोजना गरिनेछ।

आयोजक नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार हाफ म्याराथनतर्फ पुरुष र महिलाका प्रथम विजेताले जनही १ लाख ५० हजार रुपैयाँ, द्वितीयले १ लाख, तृतीयले ५० हजार, चतुर्थले ३० हजार र पञ्चमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
त्यस्तै, पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५ किलोमिटर खुला दौडका प्रथम विजेताले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार, चतुर्थले १५ हजार तथा पञ्चमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
विद्यालय तथा ह्विलचेयरतर्फका सबै विधामा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, चतुर्थले १० हजार र पञ्चमले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
स्वास्थ्य, पोषण तथा सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा धावकसँगै परिवार, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन कार्यक्रम संयोजक समेशराज भण्डारीले आग्रह गरेका छन्।
आयोजकले प्रतियोगितालाई केवल दौड प्रतियोगिताका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ।