सुचना, समाचार र मनोरन्जन

नेपालसँगै अमेरिकामा पुग्दै ‘बेहुली’, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज

काठमाडौँ :

नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ। आगामी शुक्रबार (सेप्टेम्बर १८) देखि अमेरिकाभर यसको प्रदर्शन सुरु हुन लागेको हो। चलचित्रलाई ‘सेभेज सिज इन्टरनेसनल फिल्म्स’ले अमेरिकामा रिलिज गर्न लागेको हो।

वितरण पक्षले सार्वजनिक गरेको जानकारी अनुसार ‘बेहुली’ अमेरिकाका २३ वटा राज्यमा रहेका चलचित्र हलहरूमा प्रदर्शन हुनेछ। चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरका सिनेमाघरमा देखाइनेछ। अमेरिकाका प्रमुख सिनेमा शृङ्खलाहरू सिनेमार्क, मार्कस, हार्किन्स र एप्पल सिनेमाजलगायतका हलहरूमा यसको शो तय गरिएको छ।

Protin

नेपालमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको ‘बेहुली’लाई अमेरिकामा रहेका नेपाली तथा नेपाली चलचित्रप्रेमी दर्शकमाझ पुर्‍याउन लागिएको प्रस्तुतकर्ता अर्जुन पोखरेलले बताए। नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने क्रममा यस प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। अमेरिकाबाहेक अन्य मुलुकहरूमा पनि चलचित्र प्रदर्शनको तयारी भइरहेको र ती देश तथा मितिबारे छिट्टै जानकारी सार्वजनिक गरिने पोखरेलले बताए।

माधव शर्माको लेखन तथा शशान कँडेलको निर्देशनमा बनेको यस चलचित्रले समाजको यथार्थ, युवापुस्ताको मनोभाव र पारिवारिक कथालाई प्रस्तुत गरेको छ। चलचित्रमा पारस बम ठकुरी ‘कुलब्वाय’, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।

अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन्। त्यसैगरी कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

Leave A Reply

Your email address will not be published.