सुचना, समाचार र मनोरन्जन

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी सङ्कलन

 

हुम्ला : हुम्लामा जडीबुटी संकलनको इजाजत लिनको लागि भदौ २९ गते मात्रै डिभिजन वन कार्यालयले सुचना जारी गरे पनि हुम्लाको चंखेली गाउँपालिकाका विभिन्न बनहरूमा बाह्रैमहिना अबैधरूपमा जडीबुटी संकलन हुने गरेको छ।

 

हुम्लाको सबैभन्दा धेरै जडीबुटी पाइने चंखेलीका विभिन्न क्षेत्रहरूमा बाह्रै महिना केही व्यक्तिहरू अवैध रूपमा जडीबुटी संकलन गर्ने गरेको बागेढुंगा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर शाहीले बताए।

 

चंखेली गाउँपालिका–२ मा रहेको उक्त सामुदायिक वनमा ७ वटा ठाउँमा जडीबुटी पाइने भए पनि लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरिनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रैमहिना संकलन गर्ने गरेको बताए।

 

जिल्लामा मुख्य आम्दानीको स्रोत जडीबुटी सामुदायिक वनको निर्णयबिनै स्थानीय व्यापारीहरूले जडीबुटी संकलन गर्ने गरेको उनीहरूलाई पटक–पटकभन्दा पनि नमानेको बताए। यता डिभिजन वन कार्यालयले भने उक्त क्षेत्र सामुदायिक वन भएकाले सामुदायिक वनले नै कारबाही गर्नुपर्ने सबडिभिजन कार्यालय सर्केगाडका प्रमुख बाबुलाल बम्जनको भनाइ छ। उनका अनुसार आफूहरूले पनि १५–२० दिनको एक पटक अनुगमन गर्ने गरिरहेको भएपनि त्यसरी अवैध रूपमा संकलन गर्नेहरू कोही कसैलाई नभेटेको बताए। यदि भेटिएको खण्डमा कारबाहीको दायरामा ल्याइने पनि बताए।

 

Protin

त्यतिमात्र नभई चंखेली गाउँपालिका–३ मा पनि अवैध रूपमा जडीबुटी संकलन तथा चोरी निकासी हुँने गरेको छ। स्थानीय चन्द्रबहादुर बुढाका अनुसार यहाँका स्थानीय व्यापारीहरूले इजाजत नलिई जडीबुटी संकलन गर्ने र पछि उनीहरूले नै इजाजतप्राप्त व्यापारीहरूलाई बिक्री गर्ने गरेको बताए। हुम्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमुल्य जडीबुटी तथा वन्यजन्तु चोरी निकासी दिन प्रतिदिन बढ्दै गइरहेको स्थानीय नागरिकहरूको भनाइ छ। तर, उनीहरूको नाम भन्न नसक्ने बताएका छन्। जिल्लाका विभिन्न वन क्षेत्रमा पाइने सुगन्धवाल, कुटिक, जटामसी, सतुवा, पदमचाललगायत बहुमूल्य जडीबुटीहरू निरन्तर चोरी निकासी भइरहेको स्थानीयले बताएका छन्।

 

सामुदायिक वन तथा राष्ट्रिय वनभित्र बहुमूल्य जडीबुटी संकलन तथा चोरी निकासी गरेको पाइएमा ऐनअनुसार कडा कारबाही गरिने भन्दै डिभिजन वन अधिकृत कुमाइले अवैध रूपमा संकलन नगर्न सबैलाई आग्रह गरे। चंखेली गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिन प्रतिदिन बहुमूल्य जडीबुटी र बोटबिरुवाहरूको चोरी निकासी भइरहेको भए पनि सम्बन्धित निकायले रोक्न नसकेको स्थानीय चन्दबहादुर बुढाले आरोप लगाए।

 

इजाजतबिनै जडीबुटी संकलन रोक्न संकलनका लागि २१ दिने सूचना जारी

 

हुम्लाको चंखेली क्षेत्रमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार इजाजतबिनै संकलन हुने गरेको पाइएको छ। गत वर्ष कार्ययोजना नभएका कारण सम्बन्धित निकायले संकलनको इजाजत नदिए पनि केही व्यक्तिले छिमेकी जिल्ला मुगु हुँदै जडीबुटी संकलन तथा निकासी गरेको भए पनि यस वर्ष भने हुम्लाले जडीबुटी संकलनको लागि २१ दिने सूचना जारी गरेको छ।

 

गत वर्ष हुम्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलनका लागि आवश्यक कार्ययोजना स्वीकृत नभएकाले इजाजत दिन नसकिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले बताए। त्यसक्रममा केही संकलकले मुगुबाट समेत जडीबुटी लगेका थिए। तर, अहिले मुगुमा समेत सम्बन्धित कार्ययोजना नभएको बताए। यसैबीच हुम्लाले चालु वर्षका लागि जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलनलाई व्यवस्थित र कानुनी दायरामा ल्याउन यही भदौ २९ गतेदेखि २१ दिने सूचना जारी गरेको र सूचनामार्फत तोकिएको प्रक्रिया पूरा गरी आवश्यक इजाजत लिएर मात्रै जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संकलन गर्न आग्रह गरिएको छ।

 

सम्बन्धित निकायका अनुसार इजाजतबिनै जडीबुटी संकलन गर्दा वन पैदावारको अनियन्त्रित दोहन हुनुका साथै राजस्वसमेत गुम्ने जोखिम हुन्छ। त्यसैले संकलन क्षेत्र, परिमाण, प्रजाति र प्रक्रियालाई कार्ययोजनाअनुसार व्यवस्थित गर्न खोजिएको बताए। चंखेलीलगायत हुम्लाका विभिन्न क्षेत्रमा बहुमूल्य जडीबुटी पाइने भएकाले स्थानीयको आयआर्जनसँग जोडिएको यस क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन आवश्यक रहेको त्यहाँका स्थानीयको भनाइ छ।

Leave A Reply

Your email address will not be published.