सुचना, समाचार र मनोरन्जन

न्यु मोडेलमा विज्ञान उत्सव: २ सयभन्दा बढी नवप्रवर्तनले खिचे अभिभावक र विज्ञको ध्यान

पोखरा,

पोखरा-८, नागढुङ्गास्थित न्यु मोडेल माध्यमिक विद्यालयमा राष्ट्रिय विज्ञान दिवसको छेको पारेर आयोजित विज्ञान प्रदर्शनी तथा प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूद्वारा निर्मित २०० भन्दा बढी वैज्ञानिक एवं सिर्जनात्मक परियोजनाहरूले विद्यालय परिसरलाई विज्ञान र नवप्रवर्तनको जीवन्त केन्द्र बनाएका थिए।

प्रदर्शनीको मूल्याङ्कन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का पूर्व निर्देशक डा. शोभाकान्त लामिछाने, विद्यालयका प्रधानाध्यापक लक्ष्मण पोखरेल र विज्ञ निर्णायक सम्मिलित मण्डलले गरेको थियो। निर्णायक टोलीले करिब छ घण्टासम्म प्रत्येक स्टलको सूक्ष्म अवलोकन, मूल्याङ्कन तथा विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको वैज्ञानिक चेतको परख गरेको थियो।

Protin

विद्यालयको वार्षिक कार्यतालिका अनुसार आयोजित यस प्रदर्शनीलाई जुनियर (कक्षा १-५) र सिनियर (कक्षा ६-१०) गरी दुई तहमा विभाजन गरिएको थियो। विद्यार्थीहरूले दिगो विकास, नवीकरणीय ऊर्जा, रोबोटिक्स, स्मार्ट सिटी, आधुनिक प्रविधि तथा नवीन शिक्षण-सिकाइ सामग्रीमा आधारित व्यावहारिक परियोजनाहरू प्रस्तुत गरे। विशेषगरी विद्यार्थीहरूले निर्माण गरी परीक्षण गरेको वाटर रकेटदर्शक र अभिभावकहरूका लागि मुख्य आकर्षणको केन्द्र बनेको थियो।

गरौँ र सिकौँभन्ने प्रयोगात्मक शिक्षण अवधारणालाई चरितार्थ गर्दै आयोजित प्रतियोगितामा जुनियर तथा सिनियर दुवै तहका विजेताहरू घोषित गरिए सिनियर तह (कक्षा ६-१०) फाइभ क्रियटर्स ग्रुप (प्रथम), न्युटन ग्रुप (द्वितीय), हाई-टेक ग्रुप (तृतीय), स्टार ग्रुप (चतुर्थ) र नेक्सस ग्रुप (पञ्चम) भए भने जुनियर तह (कक्षा १-५) ओजस्वी पौडेल (प्रथम), क्रिस्टिना शाह (द्वितीय), समीर पौडेल (तृतीय), डिप्सन गुरुङ (चतुर्थ) र आयुष पौडेल (पञ्चम) भएका थिए ।

प्रदर्शनी अवलोकनका लागि ठूलो सङ्ख्यामा उपस्थित अभिभावक तथा शुभेच्छुकहरूले साना बालबालिकाहरूको मिहिनेत, विश्लेषणात्मक सोच र प्रविधिप्रतिको पकड देखेर भूरिभूरि प्रशंसा गरे। सैद्धान्तिक ज्ञानलाई अनुसन्धान र प्रयोगसँग जोड्दै विद्यार्थीमा वैज्ञानिक जिज्ञासा र समस्या समाधानको क्षमता अभिवृद्धि गर्ने न्यु मोडेल स्कुलको यस प्रयासले समग्र विद्यालय परिवार र अभिभावकहरूमा नयाँ उत्साह छाएको छ।

Leave A Reply

Your email address will not be published.