पोखरा,
चाङ्गानको नयाँ विद्युतीय एसयूभी नेभो क्यू०५ पोखरामा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्प प्रालिले पोखरामा एक कार्यक्रम आयोजना गरी नेभो क्यू०५ सार्वजनिक गरेको हो।
नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। पोखराको चाउथेस्थित डीपल शोरुममा असोज ३ देखि ६ गतेसम्म विशेष टेस्ट ड्राइभ कार्यक्रमसमेत आयोजना गरिएको छ। ग्राहकले उक्त अवधिमा नेभो क्यू०५ प्रत्यक्ष रूपमा चलाएर अनुभव लिन सक्नेछन्।
नेभो क्यू०५ सार्वजनिक कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा नाडाका पूर्वअध्यक्ष दुर्वा थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष निरन केसी, यातायात व्यवस्थापन सेवा कार्यालय पोखराका प्रमुख ढाकाराम शर्मा, डीपलका ब्रान्ड एम्बेसडर तथा अभिनेता प्रदीप खड्का, होटल एसोसिएसन अफ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, म्यानपावर तथा कन्सल्टेन्सी एसोसिएसन अफ गण्डकी प्रदेशका अध्यक्ष सुजन श्रेष्ठलगायतको उपस्थिति थियो।
एमएडब्लू वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र चन्द पनि कार्यक्रममा सहभागी थिए।
कम्फर्ट, डिजाइन र प्रविधिमा केन्द्रित
कम्प्याक्ट विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरिएको नेभो क्यू०५ लाई कम्पनीले आराम, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव दिने गाडीका रूपमा प्रस्तुत गरेको छ।
क्यू०५ मा २ हजार ७ सय ३५ मिलिमिटरको ह्वीलबेस तथा ८६ दशमलव ६ प्रतिशत केबिन स्पेस उपयोग गरिएको कम्पनीले जनाएको छ। पछाडिको सिटमा तीन जना वयस्क बस्न सक्ने तथा सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन उपलब्ध छन्।
गाडीमा ५४० लिटरको डुअल लेभल बुट, ९० लिटरको लुकाइएको स्टोरेज र विभिन्न स्थानमा २९ वटासम्म स्टोरेज स्पेस रहेको कम्पनीको भनाइ छ। चयनित भेरियन्टमा १ दशमलव ८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावरयुक्त सनसाइड पनि उपलब्ध छ।

डिजाइनतर्फ क्यू०५ चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिक्योरा नेतृत्वको टोलीले विकास गरेको कम्पनीले जनाएको छ। ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञको योगदान रहेको गाडीमा डिजिटल विङ २.० फुल–विड्थ लाइटिङ, स्टार–रिङ म्याट्रिक्स एलईडी टेललाइट तथा सेमी–हिडन डोर ह्यान्डलजस्ता विशेषता छन्।
कम्पनीका अनुसार क्यू०५ ले २०२६ गोल्डेन ए’ डिजाइन अवार्डसमेत प्राप्त गरेको छ।
१५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज
नेभो क्यू०५ मा क्याटिएल ब्याट्री सेलसँग चाङ्गानको गोल्डेन सिल्ड ब्याट्री २.० प्रविधि प्रयोग गरिएको छ। यसको ३सी फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
गाडीमा १२० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ। यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८ दशमलव १ सेकेन्डमा हासिल गर्न सक्ने दाबी गरिएको छ।
कम्पनीका अनुसार क्यू०५ ले डब्लूएलटीपी परीक्षणअन्तर्गत ४०५ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ। यसको ऊर्जा खपत १०० किलोमिटरमा १२ दशमलव ९ किलोवाट आवर रहेको छ।
गाडीमा १४ दशमलव ६ इन्चको १०८०पी टचस्क्रिन, एमटीके ८६७५ सात न्यानोमिटर प्रोसेसर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो उपलब्ध छन्। भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर असिस्टेन्स फङ्सन र ५४० डिग्री प्यानोरामिक भ्यु सिस्टमसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
चाङ्गान अटोमोबाइल चीनको प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो। कम्पनीका अनुसार चाङ्गानको विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको छ भने १८ हजारभन्दा बढी इन्जिनियरको विश्वव्यापी टोलीमार्फत नयाँ ऊर्जा तथा स्मार्ट मोबिलिटी प्रविधिमा काम गर्दै आएको छ।
एमएडब्लू वृद्धि अटोकर्प प्रालि नेपालमा चाङ्गान अटोमोबाइल तथा डीपल, नेभो र अवात्रका अधिकृत डिलरका रूपमा कार्यरत छ।