सुचना, समाचार र मनोरन्जन

नेपाली चलचित्र ‘हली’ असोज ४ गते बेलायतमा प्रदर्शन हुँदै

काठमाडौँ :

नेपालमा सफलतापूर्वक प्रदर्शन भइसकेको सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘हली’ अब बेलायतमा पनि प्रदर्शन हुने भएको छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्र आगामी असोज ४ गते बेलायत (युके) को अल्डरशटस्थित ‘प्रिन्सेस हल’ मा विशेष प्रदर्शनीका रूपमा देखाइने भएको हो।

बेलायतस्थित आयोजक संस्था सपन इन्टरटेनमेन्ट लिमिटेडका अनुसार प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। युकेमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै त्यहाँका दर्शकलाई ‘हली’ को कथासँग जोड्न यो विशेष प्रदर्शनी आयोजना गर्न लागिएको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिएका छन्।

Protin

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाएको छ। सामाजिक तथा देशगत परिवर्तनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सशक्त सन्देश बोकेको यस चलचित्रको ट्रेलर, प्रमोशनल गीत र पोस्टरले नेपालमा प्रदर्शन क्रममा नै दर्शकमाझ निकै राम्रो चर्चा कमाइसकेको थियो।

चलचित्रको मुख्य अभिनयमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीका साथै निर्देशक स्वयं ओम प्रतीक रहेका छन्। चलचित्रको विशेष आकर्षणका रूपमा रहेको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित शीर्ष कलाकारहरूको नृत्य हेर्न सकिन्छ।

यस चलचित्रमा अर्जुन भुसाल कार्यकारी निर्माता, नम्रता भण्डारी सह-निर्मात्री, लक्ष्मण कर्माचार्य लाइन प्रोड्यूसर र जीवननाथ गौतम मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ।

जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वर रहेको गीत समावेश गरिएको यस फिल्मको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्। चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गरिरहेको छ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.