काठमाडौँ :
छैटौँ संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ र छैटौँ संस्करणको नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्ड २०२६ विभिन्न विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ। स्टार वान इन्टरटेनमेन्ट प्रा.लि. र एस.बि. क्रिएसन प्रा.लि.द्वारा सांस्कृतिक संस्थान (नाचघर)मा आयोजित छैटौँ नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२६ मा विभिन्न २६ विधामा अवार्ड प्रदान गरियो।
समारोहमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, एस.बि. क्रिएसनकी अध्यक्ष सरिता भारती लगायत अतिथिले आयोजकका तर्फबाट विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे। समारोहमा ओएसआर डिजिटललाई चलचित्र एवम् संगीत रजत सम्मान, पत्रकार कुमार आचार्यलाई चलचित्र पत्रकारिता रजत सम्मान, सामाजिक अभियन्ता अंश वर्मालाई युवा उद्यमी तथा सामाजिक अभियन्ता सम्मानबाट सम्मानित गरियो। वीर अस्पतालका सिनियर चिकित्सक डा. रणजीत झा गीत-संगीत तथा चिकित्सा सम्मानबाट सम्मानित भए। यस्तै चलचित्र निर्माता एवम् व्यवसायी जस्मिन श्रेष्ठ र पुजा गुरुङ, समाजसेवी उर्मिला शेरचन (अनु) नारी सम्मानबाट सम्मानित भए। यस्तै कलाकार तथा व्यवसायी देवेन्द्र नेम्वाङ, डान्स कोरियोग्राफर सरु ढुँगेल र ब्युटिसियन रेश्मा खत्री क्षेत्री पनि सम्मानित भए।
समारोहमा गीत-संगीत र म्युजिक भिडियोतर्फ १७ एवम् फेसन मोडलिङतर्फ ९ विधामा अवार्ड प्रदान गरियो। समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड ‘किन रुन हुन्न’बाट प्रमोद खरेलले, आधुनिक गीत गायिकाको अवार्ड ‘तिम्रो आँखाको’बाट सोनी राजभण्डारीले हासिल गरे। यस्तै आधुनिक गीत रचनाकारको अवार्ड ‘किन रुनु हुन्न मर्दले’बाट राम शर्मा, पप गीत गायन अवार्ड ‘गाजलु आँखैले’बाट आशिष पौडेलले, चलचित्र गीत गायन अवार्ड चलचित्र ‘उनको स्वीटर’को ‘फकाउँछ काफ्ले’बाट झुमा लिम्बूले र लोकगीत गायन अवार्ड ‘बुझे मैले’बाट राधा हमाल बानियाँले हासिल गरिन्।
सोही समारोहमा नवोदित मोडलको अवार्ड ‘काली तरेर आउँछु’बाट राजन बुढाथोकीले, आधुनिक गीत मोडलको अवार्ड ‘सधैँ तिमी’को भिडियोबाट प्रवण भुसालले, महिला मोडलको अवार्ड ‘पालाम (पुरानो माया)’बाट बुद्धरानी लिम्बूले, पपगीत मोडलको अवार्ड उमेश भट्टले र म्युजिक भिडियो छायाकारको अवार्ड ‘बुझे मैले’बाट ओमप्रसाद प्रसाईँले हासिल गरे।
यस्तै वर्षको सर्वाधिक लोकप्रिय आदिवासी गीतको अवार्ड ‘माङ्गेना लाजाम’ (लिम्बू भाषा)ले जित्यो भने आदिवासी गीत गायकको अवार्ड ‘पूर्वको मारुनी’ लिम्बू भाषा गीतबाट शम्भु फोम्बो लिम्बूले, आदिवासी गीत गायिकाको अवार्ड ‘मिम्जिरे सावन’बाट सञ्जु काङलिभा लिम्बूले हासिल गरिन्। त्यसैगरी पालाम गीत गायन अवार्ड ‘ओ.बी. मेन्वी’बाट मञ्जु काङलिभा लिम्बूले र आदिवासी गीत गायन जुरी अवार्ड मीरा फियाक लिम्बूले जितिन्। यस्तै आदिवासी म्युजिक भिडियो मोडलको अवार्ड ‘मिम्फुला, भाग–२’बाट दिलु पन्धाक मादेन र आदिवासी गीत रचनाकारको अवार्ड ‘यसपालिको साकेला’बाट अञ्जना राईले प्राप्त गरिन्। समारोहमा नेपालभाषातर्फ संगीतकारको अवार्ड ‘खुसिया किनार’ गीतबाट राजु कर्माचार्यले र गीतकारको अवार्ड ‘चिकुलया तः खाः’बाट छत्रराज शाक्यले हासिल गरे।
यस्तै फेसनतर्फ सर्वोत्कृष्ट फेसन डिजाइनरको अवार्ड भावना कुमारी धनुकले, सर्वोत्कृष्ट बुटिकको अवार्ड परी बुटिक, पुरानो बानेश्वरका लागि मितु अधिकारीले, सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिता मोडलको अवार्ड मिसेस युनिभर्स २०२६ रनर अप रोजी थापाले, सर्वोत्कृष्ट राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेताको अवार्ड ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’की विजेता चाँदनी श्रेष्ठले र सर्वोत्कृष्ट फेसन एवम् इभेन्ट फोटोग्राफी अवार्ड ब्युटी न्युज नेपालका फोटो पत्रकार बद्री थापाले हासिल गरे। सर्वोत्कृष्ट इन्टेरियर डिजाइन फर्निचरको अवार्ड हिमालयन फर्निचर एन्ड सोफा फ्याक्ट्री, भक्तपुरका खड्ग थापाले प्राप्त गरे।
यस्तै एस.बि. क्रिएसन प्रा.लि.द्वारा आयोजित छैटौँ नेपाल ब्युटी मेकअप एन्ड कस्मेटिक अवार्डतर्फ मेकअपमा सर्वोत्कृष्ट चलचित्र मेकअप आर्टिस्ट अवार्ड चलचित्र ‘मोहर’बाट अमृत मरहट्टाले, ब्राइडल मेकअप आर्टिस्टको अवार्ड सुमित्रा खवासले, पार्टी मेकअप आर्टिस्ट अवार्ड राधा चौधरीले र मोडल मेकअप आर्टिस्ट अवार्ड लीला राउतले जिते। समारोहमा नेलतर्फ नेल टेक्निसियनको अवार्ड देउकला खेवाङले र नेल आर्टिस्टको अवार्ड बिना राना मगरले हासिल गरे।
यस्तै हेयरतर्फ ब्राइडल हेयर डिजाइनरको अवार्ड लक्ष्मी महर्जनले, पुरुष हेयर स्टाइलिस्टको अवार्ड मनीष नेपालले, महिला हेयर स्टाइलिस्टको अवार्ड स्मृति सुब्बाले र हेयर टेक्निसियनको अवार्ड उषा गुरुङले प्राप्त गरे। अन्य विधातर्फ मेहेन्दी आर्ट डिजाइनरको अवार्ड रीता तामाङले, फेसियल आर्टिस्टको अवार्ड दुर्गा बुढाथोकी पौडेलले, आइलास टेक्निसियनको अवार्ड हिरा राईले, माइक्रोब्लेडिङ आर्टिस्टको अवार्ड निशा रजकले र पर्मानेन्ट मेकअप (ट्याटु) आर्टिस्टको अवार्ड राजेन्द्र पाख्रिनले जिते।
यसैगरी उत्कृष्ट महिला ब्युटी पार्लर (काठमाडौँ)को अवार्ड आरएल ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, टोखाले, उत्कृष्ट ब्युटिसियन (मोफसल)को अवार्ड पुनर्वास, कञ्चनपुरकी रोशनी श्रेष्ठले, उत्कृष्ट ब्युटी पार्लर (मोफसल)को अवार्ड एञ्जल ब्युटी सैलुन, बरहथवा, सर्लाहीकी राजेश्वरी श्रेष्ठ (राघी)ले, उत्कृष्ट युनिसेक्स सैलुन (काठमाडौँ)को अवार्ड रस्मिलाज फेसियल हाउस, काठमाडौँ मलले र उत्कृष्ट ब्युटिसियन ट्रेनिङ सेन्टरको अवार्ड कारा ब्युटिकेयर एन्ड ट्रेनिङ सेन्टर, ललितपुरकी शान्ती शर्माले जितिन्। कस्मेटिकतर्फ बेस्ट सेलिङ हेयर प्रोडक्टको अवार्ड क्राब बोटेक्स हेयर ट्रिटमेन्ट एन्ड स्याम्पुले र बेस्ट सेलिङ मेकअप प्रोडक्टको अवार्ड कलर एसेन्स – कलर लिपस्टिकले जित्यो।
समारोहमा ३६० स्टुडियोका कलाकार र प्रियांशु न्यौपानेले नृत्य प्रस्तुत गरे भने गायक ओम सुनारले गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याए। समारोहमा नेपाल म्युजिक एन्ड फेसन अवार्डको निर्णायकमा अभिनेता एवम् मोडल यसराज गराच, गीतकार एवम् संगीतकार सुमन पण्डित र फेसनतर्फको निर्णायकमा गोमा अधिकारी धिताल थिइन्।
