सुचना, समाचार र मनोरन्जन

‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा, नेपाली फिल्मको स्तरबारे भारतीय फिल्मकर्मी र दर्शकको सकारात्मक प्रतिक्रिया

काठमाडौं :
Gandarbha
अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको नेपाली फिल्म ‘आचार्य’को ट्रेलरलाई लिएर नेपालसँगै भारतमा पनि विभिन्न कोणबाट चर्चा र समीक्षा भइरहेको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक ट्रेलरले भारतीय फिल्म पत्रकार, कलाकार तथा आम दर्शकको समेत ध्यान खिचेको निर्माण पक्षको भनाइ छ।
भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’को ट्रेलरबारे आफ्ना प्रतिक्रिया सार्वजनिक गरिरहेका छन्। विशेषगरी दक्षिण भारतदेखि भारतका अन्य फिल्म क्षेत्रसम्म नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माण पक्षले जनाएको छ। भारतीय फिल्म पत्रकार तथा दर्शकको प्रतिक्रियामा नेपाली फिल्म पछिल्ला वर्षमा प्राविधिक तथा प्रस्तुतिका हिसाबले धेरै अगाडि बढेको उल्लेख गरिएको छ।
उनीहरूले अब नेपाली फिल्मलाई भारतीय फिल्मको अनुकरण गर्ने उद्योगका रूपमा मात्र हेर्न नहुने र नेपाली फिल्म आफ्नै पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन्। कतिपय भारतीय समीक्षक तथा दर्शकले नेपाली फिल्म पनि बलिउड वा अन्य भारतीय फिल्मको पछाडि मात्र आउने नभई भारतीय फिल्मसँगै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्न सक्ने स्तरमा विकास भइरहेको बताएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियो तथा प्रतिक्रियामा ‘आचार्य’को ट्रेलरको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरिएको देखिन्छ।

भारतका विभिन्न फिल्म स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे चर्चा भइरहेको भारतीय कलाकार रघुबाबु लगायतले बताएका छन् । उनीहरूका अनुसार नेपाली फिल्मप्रति भारतीय फिल्म क्षेत्रको चासो विस्तार हुँदै गएको छ। एक समय भारतमा बनेका फिल्मको प्रभावमा नेपालमा फिल्म निर्माण हुने र भारतीय फिल्मको शैलीलाई पछ्याउने प्रवृत्ति रहेको चर्चा हुने गरेको थियो । तर पछिल्लो समय नेपाली फिल्मले आफ्नै कथा, प्रस्तुति र शैली निर्माण गर्दै भारतीय फिल्मसँगै दर्शकमाझ पुग्ने प्रयास गरिरहेको भारतीय फिल्मकर्मी तथा पत्रकारहरूको प्रतिक्रियामा उल्लेख छ ।

विशेषगरी सीमित बजेट र तुलनात्मक रूपमा सानो बजारबाट पनि नेपाली फिल्मले ठूलो बजेटमा निर्माण हुने भारतीय फिल्मसँग प्राविधिक तथा प्रस्तुतिगत रूपमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गरेको उनीहरूको धारणा छ। ‘आचार्य’को ट्रेलरलाई लिएर आएका प्रतिक्रियाले पनि नेपाली फिल्म उद्योगमा आएको परिवर्तनलाई संकेत गर्ने उनीहरूले बताएका छन्।

निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’लाई निखिल स्वयंले निर्देशन तथा अभिनय गरेका छन्। फिल्मको ट्रेलरमा एक्सन, द्वन्द्व, भावनात्मक सम्बन्ध र सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मले अब आफ्नै बलमा अगाडि बढ्नुपर्ने र नेपाली दर्शकले नेपाली फिल्मलाई माया गर्नुपर्ने बताएका थिए।

यता, ‘आचार्य’को ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि यसको एक्सन, निखिल उप्रेतीको कमब्याक शैलीको प्रस्तुति तथा फिल्मको निर्माणस्तरलाई लिएर चर्चा भइरहेको छ। भारतमा समेत ट्रेलरले पाएको प्रतिक्रियाले नेपाली फिल्मको बजार नेपालमा मात्र सीमित नरहेको र नेपाली फिल्मप्रति छिमेकी मुलुकका दर्शक तथा फिल्मकर्मीको चासो बढ्दै गएको संकेत गरेको निर्माण पक्षको विश्वास छ। ‘आचार्य’ असोज ९ गतेदेखि नेपालसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने तयारीमा छ ।

Leave A Reply

Your email address will not be published.