सुचना, समाचार र मनोरन्जन

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे (आइल्यान्ड पिक) मा रोकिएका सात विदेशी पर्यटकको उद्धार गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ। हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ।

‘माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ। कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ जमेको जानकारी आएको छ। पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ,’ थापामगरले भने।

भारी हिमपातका कारण इम्जा छे क्षेत्रमा रोकिएका सात विदेशी पर्यटकलाई स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा ल्याइएको हो। प्रशासनका अनुसार उनीहरू चिनियाँ मूलका युरोपेली नागरिक रहेको जानकारी आएको छ।

इम्जा छे अर्थात् आइल्यान्ड पिक सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो। यो क्षेत्र समुद्री सतहबाट करिब ६ हजार १६५ मिटर उचाइमा रहेको छ।

प्रतिकूल मौसमका कारण माथिल्लो क्षेत्रमा थप पर्यटक तथा पदयात्रीलाई जान नदिन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार अहिले सगरमाथा क्षेत्रमा १ हजार २०० भन्दा बढी पर्यटक छन्। उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ।

‘मौसम प्रतिकूल भएकाले पर्यटकको सुरक्षालाई प्राथमिकता दिएका छौँ। जोखिमयुक्त अवस्थामा अनावश्यक रूपमा माथि नजान आग्रह गरिएको छ,’ उनले भने।

गाउँपालिकाका अनुसार थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पर्यटक, पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा अनावश्यक आवागमन नगर्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार हिमपात बढ्दै गए उच्च क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीको उद्धारका लागि स्थानीय तह, प्रहरी, प्रशासन र स्थानीयवासीबीच समन्वय गरिएको छ।

“विपद्को समयमा स्थानीय जनप्रतिनिधि सक्रिय हुनुहुन्छ। जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा आवश्यक उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि तयारी अवस्थामा छौँ,” उनले भने।

प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा पालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.