सुचना, समाचार र मनोरन्जन

‘म्युजिक जात्रा–ख्वपः’मा पहिलोपटक गुन्जिँदै कुमा सागर, प्रवेश निःशुल्कसँगै ५० प्रतिशत रकम सामाजिक कार्यमा जाने

भक्तपुर:

भक्तपुरमा पहिलोपटक ठूलो स्तरको च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। आयोजकले आज क्लब बागमतीमा पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर १२ गते भक्तपुरको सल्लाघारी मैदानमा उक्त भव्य सांगीतिक कार्यक्रम हुन लागेको जानकारी दिएको हो।

लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा चर्चित गायक ‘कुमा सागर एण्ड द ख्वपः ब्याण्ड’ रहनेछन्। भक्तपुरमै जन्मिएर विश्वभरका नेपालीमाझ ख्याति कमाएका कुमा सागरले आफ्नै गृहनगर भक्तपुरमा पहिलोपटक प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन लागेका हुन्। उनको यो प्रस्तुतिलाई भक्तपुरको सांस्कृतिक र सांगीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ।

कार्यक्रममा कुमा सागरका साथै प्रसिद्ध ब्याण्ड ‘मुक्ति एण्ड रिभाइभल’ तथा ‘निभाः डंगोल एण्ड चबाही दबु’को समेत बेजोड प्रस्तुति रहनेछ।

सङ्गीतमार्फत भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको जात्रामा परम्परागत सांस्कृतिक झाँकी, लाइभ साङ्गीतिक प्रस्तुति, स्थानीय खानाका परिकार तथा जीवनशैलीसँग सम्बन्धित विविध स्टलहरू रहने आयोजकले जनाएको छ।

‘एक्सट्रीम एनर्जी ड्रिंक’ मुख्य प्रायोजक रहेको यस कार्यक्रममा दर्शकहरूका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ। फेस्टिभलमा सहभागी हुन चाहने दर्शकले ‘एक्सट्रीम एनर्जी ड्रिंक’को खाली क्यान ल्याए पुग्ने व्यवस्था मिलाइएको छ।

मनोरञ्जनका साथसाथै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर आयोजना गर्न लागिएको यस जात्राको व्यावसायिक आम्दानी (प्रायोजन तथा स्टल भाडा) बाट प्राप्त हुने रकमको ५० प्रतिशत भक्तपुरस्थित ‘समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)’ लाई सहयोगस्वरूप प्रदान गरिनेछ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट संकलन हुने प्रत्यक्ष सहयोग रकम पनि सीबीआरओलाई नै हस्तान्तरण गरिनेछ।

‘म्युजिक जात्रा–ख्वपः’ ले भक्तपुरको कला, संस्कृति र सङ्गीतलाई उत्सवका रूपमा प्रस्तुत गर्दै सामाजिक सहयोगमार्फत समुदायलाई समृद्ध बनाउन टेवा पुर्‍याउने विश्वास आयोजकको छ।

Leave A Reply

Your email address will not be published.